टप फिचर

निःशुल्क स्वास्थ्य सेवा पाएकोमा स्थानीयमा खुसी

By थाहा अनलाइन

November 06, 2019

रमेश विश्वकर्मा गुल्मी, कार्तिक २०/जिल्लाको गुल्मीदरबार गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीयहरु खुसी भएका छन् । पहिले गाउँबाट बुटवल काठमाडौं जाँदा समय र खर्च हुने भएकाले स्वास्थ्य शिविरबाट गाउँमै आफ्नो स्वास्थ्य परीक्षण गराउन पाउँदा स्थानीयहरुमा खुसी छाएको हो ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको व्यवस्थापन तथा सिद्धबाबा लुम्बिनी प्रादेशिक अस्पताल र हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । एक दिने शिविरमा स्वास्थ्य शिविरमा मुटु, दम, छाती, फोक्सो, पेट, सुगर, मृगौला, स्त्री रोग तथा बालरोगको उपचार गरिएको गरिएको समाजका उपाध्यक्ष उषा खत्रीले जानकारी दिइन् । उनले भनिन् ‘हामीले सबै रोगको उपचार गर्ने गरी विशेषज्ञ डाक्टरहरुको समूह सहित गएका थियौं ।’

स्वास्थ्य शिविरबाट ५ सय ९० जना सेवाग्राहीहरु लाभाम्वित भएको गाउँपालिका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । उनका अनुसार महिला ४ सय २५ र पुरुष १ सय ६५ जना रहेका थिए । अत्याधिक मात्रामा महिला बिरामीहरु देखिएका थिए । सामान्य हाडजोर्नी दुख्ने, स्त्री रोग (महिलाको समस्या) भएका बिरामीहरुको संख्या अत्याधिक मात्रामा रहेको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए ।

घरबाट बाहिर निस्कन नसक्ने वृद्ध बुवाआमा, त्यहाँ रहेको स्थानीय स्वास्थ्य चौकीसम्म पनि जान नसक्ने, बुटवल–काठमाडांैसम्म पनि पुग्न नसक्ने आर्थिक रुपले अत्यन्तै कमजोर भएका स्थानीयवासीलाई केही हदसम्म सहयोग होस् भनी यो शिविर सञ्चालन गरिएको अध्यक्ष ज्ञवालीले बताए । शिविरमा ७० वर्ष काटेका वृद्धहरुलाई विशेष प्राथमिकताका साथ उपचार गराईएको र सबै बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको समाजले जनाएको छ । २०७५ साल चैत्र महिनामा यो समाजको स्थापना भएको थियो । यस्तै अन्य विभिन्न स्थानीयबासीलाई सहयोग हुने खालका कामहरु यो समाजले गर्दै जाने समाजका अध्यक्ष ज्ञवालीले बताए । आगामी दिनहरुमा पनि समाजले यस्ता कामहरुलाई निरन्तारता दिर्दै जानुपर्नेमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतले जोड दिएका छन् ।

गाउँपालिका अध्यक्ष अशोककुमार थापाले कर्मथलो अन्यत्र भएपनि आफ्नो ठाउँको लागि विशेषज्ञसहित स्वास्थ्य शिविर सञ्चालन गरेर राम्रो काम गरेको भन्दै समाजलाई धन्यवाद व्यक्त दिए । उनले गाउँपालिकाले स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई विशेष जोड दिएको बताउँदै नगरिकलाई आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न पनि आग्रह गरे ।