तीन महिनामा सेवा प्रबाहामा सुधार ल्याएको छु प्रजिअ श्रेष्ठ



दिपक बोहरा

दाङ,२९ असोज

 

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले दाङमा आएको तीन महिनामा सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याएको बताएका छन् । नेवार समाज तुलसीपुरको सातौ साधारणसभाका प्रमुख अतिथि श्रेष्ठले  आफू दाङ आएपछि तीन महिनासम्म गरेका कामको बारेमा जानकारी गराएका थिए ।

गत असार २५ गते दाङ आए लगतै प्रजिअ श्रेष्ठले यहाँका प्रमुख समस्याहरुको तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार पहिलो काम सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गरेको उनको भनाइ थियो ।

‘सरकारी कार्यालयमा बिचौलियाले गर्दा पहुँच हुनेहरुको काम छिट्टै हुने र पहुँच नहुनेहरुको काम ढिला हुने गरेको थियो’ उनले भने– ‘तर अहिले हामीले बिचौलियाहरुलाई गेटभन्दा पनि भित्र छिर्न दिदैनौ ।

जसले गर्दा सबै नागरिकलाई सेवा प्रवाहमा सहज भएको छ ।’ बिचौलियाहरुकै कारणले सेवाग्राहीले एमआरपी, निवेदन लेख्न नै सेवाग्राहीले पाँच सयदेखि एक हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता हटेको प्रजिअ श्रेष्ठले बताए । जिल्ला प्रशासनले निवेदन लेख्ने, एमआरपी बनाउनका लागि छुट्टै हेल्प डेस्कको स्थापना गरेकाले ती कामहरु अहिले २० रुपैयाँमा हुने गरेको बताए ।  दशैं बिदामा पनि प्रशासनका सेवाहरु दिइएको उनले बताए । ‘नेपालका ७७ वटा जिल्लामध्ये दशैंको बिदामा पनि सेवा प्रवाह गर्ने पहिलो जिल्ला प्रशासन दाङ हो’ उनले भने– ‘दाङ घर भएका तर कामको शिलशिलामा जिल्लाभन्दा बाहिर रहेकाहरु पनि दशैं, तिहारको अवसरमा घर आएका हुन्छन्, उनीहरुको प्रशासनमा हुने कामलाई मध्यनजर गरी दशंै बिदामा पनि सेवा प्रवाह गरेका हौं ।

’ उनले जिल्ला प्रशासन कार्यालयको भौतिक सुधार, जिल्लाको शान्ति सुरक्षा, अमनचयन गर्न पनि तीन महिनमा विशेष भूमिका निर्वाह गरेको बताए । शान्ति सुरक्षा कायम गर्नका लागि उनले दाङमा आवश्यक अनुसार प्रहरी थप गर्न पहल थालेको बताए ।  त्यस्तै विकास निर्माणको काममा पनि उल्लेख्य प्रगति भएको उनको भनाइ थियो । विभिन्न कारणले रोकिएका जिल्लाका विकास निर्माणका कार्यहरुलाई सुचारु गर्न सफल भएको बताए । उनले असार÷साउन महिनामा खोल्नै नमिल्ने नदीजन्य पदार्थ उत्खनन्लाई विकास निर्माणको कामका लागि खुल्ला गरिएको बताए ।

जसले गर्दा जिल्लाका विकास निर्माणका कामहरु अगाडि बढेको बताए । भर्खरै मात्रै लामो समयदेखि अनिश्चित बनेको लमही– कोइलाबास सडक निर्माणको काम शुरु गरेको बताए ।  प्रजिअ श्रेष्ठले बाढी पीडितको समयमै उद्धार र राहत सामग्री प्रदान गरिएको बताए । अब नदी तथा खोलाका किनार आसपासमा घर तथा टहरा निर्माण गर्न मापदण्ड तयार पर्नुपर्ने पनि उनको भनाइ थियो । नदी तथा खोलाका किनारमा घर बनाउदा वषेनी आउने बाढीले क्षति गर्न सक्ने भन्दै त्यस्ता ठाउँमा घर बनाउँदा मापदण्ड तय हुनुपर्ने बताए ।

दाङमा ढुंगा खानी नहुँदा पनि विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढ्न नसकेको उनले बताए । नदी तथा खोलाका ढुंगाले नपुग्ने भन्दै उनले विकास निर्माणका लागि ढुंगा खानीको खोजी गर्नुपर्ने बताए । त्यसका लागि प्राविधिक समिति गठन गरिएको उनले बताए । साथै उनले सवारी लाइसेन्स वितरणलाई स्वच्छ, निष्पक्ष गर्न निर्देशन दिएको, तुलसीपुरमा ब्लड बैंक सञ्चालनमा ल्याउनका लागि आफूले विशेष भूमिका निर्वाह गरेको बताए ।

फरक प्रसंगमा प्रजिअ श्रेष्ठले नेवारहरुको इस्वी सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा सरकारले मान्यता दिएपनि सरकारी लेटरप्याडमा नराखेको भन्दै सरकारी लेटरप्याडमा इस्वी सम्वत् राख्न पहल थाल्ने बताए । समाजका अध्यक्ष विनोदकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेवा देदवु दाङका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले नेवार समुदायले मनाउने गाईजात्रालाई सरकारले देशभर नै बिदा दिनुपर्ने बताए । देशका ७७ वटै जिल्लामा नेवारहरुले गाईजात्रा मनाउने भएकाले देशभर नै बिदा दिनुपर्ने बताए ।

साधारणसभामा कोेषाध्यक्ष अर्जुनकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचिव हरिकुमार श्रेष्ठले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । नेवार समाज तुलसीपुरका उपाध्यक्ष नरेशराज  श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको  कार्यक्रमको  सहजीकरण महासचिव हरिकुमार श्रेष्ठ र  सदस्य शुसील श्रेष्ठले  गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिकलगायत समाजलाई योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।  अध्यक्षमा नरेश  समाजको अध्यक्षमा नरेश राजभण्डारी चयन भएका छन् ।  जसको उपाध्यक्षमा उपाध्यक्ष अनुपकुमार श्रेष्ठ, महासचिवमा हरिकुमार श्रेष्ठ, कोषाध्यक्ष पुष्कर श्रेष्ठ, सचिवमा सुदृष्टी श्रेष्ठ चयन भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्