आजदेखि ‘रसुवा कला यात्रा’



विगत एक वर्षदेखि चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको उपत्यकाका कलाकारको समूहले यसपटक भने उपत्यकाबाहिर ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन् ।

फेसबुकबाट जोडिएर हरेक शनिबार उक्त कार्यशाला गर्दै आएका उनीहरुले यसपालि रसुवाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्न लागेका हुन् ।

यसपालि ‘रसुवा कला यात्रा’ नाम दिएर चित्रकला कार्यशाला आयोजना गर्न लागिएको उक्त कार्यक्रमका संयोजक दिवेश प्रधानले जानकारी दिनुभयो । कलायात्राका सहभागी कलाकारको टोली उपत्यकाबाट आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

आज रसुवा र नुवाकोटको सङ्गमस्थल ऐतिहासिक एवं धार्मिक तीर्थस्थल उत्तरगयाधाम, बेत्रावतीबजारको स्थलगत भ्रमण गर्ने र शुक्रबार बिहान बेत्रावतीको सांस्कृतिक पर्व ठूलो (हरिबोधिनी) एकादशी मेलामा स्थलगत चित्रकला कार्यशाला गर्ने कार्यक्रम रहेको प्रधानले जानकारी दिनुभयो । बनाइएका चित्रहरुको शुक्रबार साँझ नै प्रदर्शनी गरिने जनाइएको छ ।

पौराणिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण बेत्रावतीमा पुसेऔँसी (पितृऔँसी) का साथै दशहरा, जनैपूर्णिमा, गाईजात्रा, कुसेऔँसी, ठूलो एकादशी, बालबाचतुर्दशी, माघेसङ्क्रान्तिलगायतका पर्वमा ठूलो मेला लाग्ने गर्छ ।

यस्तै कात्तिक २३ गते नियमित ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरिने र आइतबार यहाँको कालिकास्थानसँगै नुवाकोटको त्रिशूली, देवीघाट तथा नुवाकोट दरबारको स्थलगत भ्रमणको कार्यक्रम रहेको जनाइएको छ । कलायात्रामा स्थानीय सङ्घसंस्थाको सहकार्य रहने आयोजकले जानकारी दिएको छ ।

कलायात्रामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, राधेश्याम कर्माचार्य, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, झलक केसी, सूर्यराम सुवाल, रुविन बाडेलगायत कलाकार सहभागी हुँदैछन् । स्थानीयस्तरमा कलाकार शशीकुमार डङ्गोल र डिल्लीराम घिमिरेले संयोजक गर्नुभएको जनाइएको छ ।

यसअघि सोही कलाकारको टोलीले ‘भोटेकोशी सभ्यता’ अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा पुगेर स्थलगत चित्रकला कार्यशाला आयोजना गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरेका थिए । कलाकारको टोलीले गएको एक वर्षदेखि काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा पुगेर चित्रकला कार्यशाला गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्