समाचार

आफ्नो पार्टी मुलुकको पहिलो शक्ति

By थाहा अनलाइन

October 15, 2017

सैघाली खबर, काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन भएसँगै आफ्नो पार्टी मुलुकको पहिलो शक्ति भएको घोषणा गरेका छन्।

अध्यक्ष ओलीले संसद विघटन र स्थानीय तहको मत परिणाम दुवै कारणले अब एमाले मुलुकको पहिलो शक्ति भएको दाबी गरेका हुन्। आइतबार आफ्नै निवास बालकोटमा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दानबहादुर बस्नेतलाई पार्टी प्रवेश गराउँदै उनले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेले अत्यधिक बहुमत ल्याउने दाबी समेत गरे।

अध्यक्ष ओलीले विपक्षको भ्रमपूर्ण प्रचारका कारण मात्रै प्रदेश नम्बर २ को स्थानीय तहमा निर्वाचनमा एमाले दोस्रो शक्ति बन्नु परेको दाबी पनि गरे।

अध्यक्ष ओलीले अब हुने निर्वाचनमा एमाले प्रदेश नम्बर २ मा पनि पहिलो शक्ति बन्ने दाबी गरे। उनले तराई मधेशमा पार्टी प्रवेश गर्ने नेताहरूको लहर चलेको र त्यो जनस्तरसम्म पुग्ने दाबी गरे।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले तराई मधेशको विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।