ठूला दलले बुझाए उधारो बन्दसूची



 

सैघाली खबर

काठमाडौं २९ असोज। निर्वाचन आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले समानुपातिक उम्मेदवारहरुको ‘उधारो बन्दसूची’ बुझाएका छन् । आन्तरिक दलीय भागवण्डा मिलाउन नसकेका तीनवटै पार्टीले तिहारपछि अर्को संशोधित सूची बुझाउने गरी आइतबार आयोगमा बन्दसूचीको पत्र बुझाएका हुन् ।निर्वाचन आयोगका कर्मचारीहरु दिनभरिजसो आयोग परिसरमा टेन्ट टाँगेर बन्दसूची दर्ताका लागि बसेका थिए । तर, थथार्थवादी, लोहियावादी जस्ता पहिले खासै नाम नसुनेका पार्टीहरु बाहेक ठूला पार्टीका नेता कार्यकर्ता बेलुकासम्म आयोगमा पुगेनन् ।

आयोगले दिएको ५ बजेको समयसीमा सकिनै लाग्दा माओवादी र एमालेका नेताहरु पत्र बोकेर आयोगमा पुगे । काग्रेसका नेताचाँहि साँझसम्म बालुवाटारमा समानुपातिक उम्मेदवारको सूचीबारे छलफल गरिरहेका थिए । उनीहरु विजय गच्छदारको पार्टीलाई समेत मिलाएर एकैसाथ बन्दसूची बुझाउने प्रयासमा थिए ।

एमालेका एक नेताले बेलुका पाँच बजे अनलाइनखबरसँग भने( निर्वाचन आयोगमा पार्टीको पत्र गइसक्यो, बन्दसूचीले चाहिँ पूर्णता पाउन बाँकी छ ।

माओवादी केन्द्रका नेताले भने( हाम्रो कार्यालयका तर्फबाट प्रल्हाद बूढाथोकी ५ बजे नै बन्दसूची बुझाउन निर्वाचन आयोग गइसक्नुभएको छ ।

कांग्रेसका नेताले भने फोरम लोकतान्त्रिकलाई समेत मिलाउने प्रयासमा लाग्दा ढिलाइ भएको बताए । कांग्रेस नेताका अनुसार निर्वाचन आयोगमा टोकन लिइसकेका कारण राति ७ बजेसम्ममा सूची बुझाउन सकिने छ । अहिले बालुवाटारमा कांग्रेस र फोरम लोकतान्त्रिकको साझा सूची तयार पार्ने काम भइरहेको छ ।

 

उधारो बन्दसूची

निर्वाचन आयोगमा दलहरुले बुझाएको बन्दसूची तिहारपछि हेरफेर गरेर अर्को पठाइने नेताहरुले बताएका छन् । त्यसैले आज बन्दसूचीमा परेका नेताहरुको नाम एकसाताभित्र काँटछाँट हुने वा हट्ने सम्भावना छ ।

आगामी मंसिर १० र २१ गते हुने दुई चरणको चुनावमा दलहरुले प्राप्त मतका आधारमा केन्द्रीय संसदका ११० र प्रदेशका २२० गरी ३३० समानुपातिक सांसदहरु छानिने छन्

निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म दलहरुले समानुपातिकको बन्दसूची सच्याउन पाउने छन् ।

सच्याइएको बन्दसूची दलहरुले कात्तिक ६ गतेदेखि १२ गतेभित्रमा निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

त्यसरी १२ गतेभित्र बुझाइएको बन्दसूची पनि अन्तिम हुनेछैन । किनभने कात्तिक १३ गते सूचीमा भएका व्यक्तिले नाम फिर्ता लिन सक्नेछन् भने त्यसरी फिर्ता लिएपछि रिक्त हुने सूचीमा अर्को व्यक्तिको नाम कात्तिक १४ र १५ गतेभित्र थप्ने अधिकार दलहरुलाई निर्वाचन आयोगले दिएको छ ।

 

बन्दसूचीको   नाम  आयोगले कात्तिक १७ गते सार्वजनिक गर्ने ।

कात्तिक १७ गते सार्वजनिक गरिएको नाममा कसैले दाबी विरोध गर्न सक्नेछन् । दाबी विरोधका लागि कात्तिक १८ देखि २४ गतेसम्म तोकिएको छ । कात्तिक २५ देखि मंसिर १ गतेसम्म आयोगले दाबी विरोधमाथि छानविन गर्नेछ । र, नाम हटेको सूचना मंसिर २ गते प्रकाशित गरिनेछ ।

 

 

यति सबै प्रक्रिया पूरा गरिसकेपछि बल्ल मंसिर ३ गते निर्वाचन आयोगले समानुपातिक उम्मदेवारहरुको बन्दसूचीको अन्तिम नामावली प्रकाशित गर्ने छ ।

त्यसरी प्रकाशित भएको नामावलीमा भने दलहरुले कुनै चलखेल गर्न पाउने छैनन् । किनभने नयाँ निर्वाचन कानून अनुसार बन्दसूचीमा माथिल्लो लहरमा भएको व्यक्तिलाई नै समानुपातिक सांसद बनाउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

विगतमा भने दलहरुले सूचीको पुछारमा रहेका व्यक्तिलाई समेत सांसद बनाउन पाउने खुकुलो प्रावधान थियो ।

३३० जनाको भाग्य दलको खल्तीमा

संविधान एवं निर्वाचन कानूनअनुसार निर्वाचन आयोगमा समानुपातिक तर्फका ३३० उम्मेदवारहरुको भाग्यको फैसला हुनेछ ।

प्रतिनिधिसभाका लागि ११० जना र प्रदेश सभाका लागि २२० जनाको बेग्लाबेग्लै बन्दसूची दलहरुले बुझाउन पाउनेछन् ।

तर, साना दलहरुले कम्तिमा १० जना वा सोभन्दा बढीको नाम बुझाउन पाउनेछन् । साना पार्टीले थोरै नाम मात्रै बुझाए पनि कांग्रेस, एमाले र माओवादी लगायतका दलले ३३० जनाकै नाम बुझाएका छन् ।

आगामी मंसिर १० र २१ गते हुने दुई चरणको चुनावमा दलहरुले प्राप्त मतका आधारमा केन्द्रीय संसदका ११० र प्रदेशका २२० गरी ३३० समानुपातिक सांसदहरु छानिनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्