आजबाट तिहार सुरु



 

सैघाली खबर
काठमाडौं,३१ असोज

नेपालीको दोस्रो ठूलो चाड तिहार आज बाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदैछ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुक्ल द्वितीया सम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुक्ल द्वितीया सम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ ।

वैदिक मान्यता अनुसार कागलाई सन्देश वाहकका रुपमा मान्ने गरिन्छ । यस दिन कागलाई पूजा आजा गरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । तिहारको दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल सम्वत्को नयाँ वर्ष ११३८ र म्हःपूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

यसवर्ष कात्तिक ४ गते शनिबार मध्याह्न ११ बजेर ५१ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिविको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्