उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै



घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालयले पान नम्बर लिन अनिवार्यरूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएसँगै उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो ।

करीब साढे तीन महिनाको अवधिमा एक हजार ४७९ उद्योग दर्ता भएका छन् । साउनदेखि हालसम्म घरेलुतर्फ ७४४ र वाणिज्यतर्फ ७३५ गरी उक्त सङ्ख्यामा दर्ता भएका उद्योग प्रशासन शाखाकी खरदार मेनका कट्टेलले बताए । पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको उनले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा वर्षभरिमा उद्योगतर्फ एक हजार १३४ र वाणिज्यतर्फ एक हजार ४७१ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिक नबित्दै अघिल्लो वर्षको हाराहारीमा उद्योग दर्ता भएको उनले भने । असोजसम्म रु २० लाख ७६ हजार ३५० राजश्व सङ्कलन भएको छ । उक्त कार्यालयले आव २०७५÷७६ मा रु ८० लाख ४० हजार ३०५ राजश्व सङ्कलन भएको जनाएको छ ।

त्यसैगरी वाणिज्यतर्फका फर्म दर्ता गर्दा रु २६ लाख ९९ हजार १२५ राजश्व सङ्कलन भएको तथ्याङ्क सहायक रवि अधिकारीले बताए । वाणिज्यतर्फ आव २०७५÷७६ मा रु ७० लाख ७३ हजार ७८० राजश्व सङ्कलन भएको थियो । गत आवमा ४० उद्योग खारेज भएका छन् । विदेश गएका, उद्योग सञ्चालन गर्न छाडेका उद्योगीले करचुक्ता प्रमाणपत्र ल्याएर उद्योग खारेज गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्