अपराध

निर्मला पन्त हत्या प्रकरण : दिलिप विष्टमाथी पुन: अनुसन्धान गर्न माग

By थाहा अनलाइन

November 18, 2019

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका दिलिप विष्टमाथि पुनः अनुसन्धान गर्न निर्मलाकी आमा दुर्गादेवी पन्तले माग गरेकी छिन ।

आफुले किटानी जाहेरी दिँदा समेत दिलिप माथि कुनै अनुसन्धान नभएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिलकुमार बैद्यसँग पुन अनुसन्धान अगाडी बढाईदिन आग्रह गरेकी छिन । उनले दिलिपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

सोमबार निर्मलाकी आमा दुर्गाले कञ्चनपुरका प्रजिअ बैद्यलाई भेटेरै छोरीका हत्यारा सार्वजनिक गर्न र शंस्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिदिन माग राखेकी छन् । दुर्गाले दिलिप आफ्नै घरवरिपरी आउँदा डर लाग्ने उल्लेख गर्दै सार्वजनिक स्थलमा समेत आफैले निर्मलाको हत्या गरेको हुँ, भनेर बोल्दा समेत प्रहरीले उनीमाथि समान्य केरकार नगरेको बताइन् । कतिपय अधिकारकर्मीले निर्मलाका नाममा डलर पचाएर पन्छिएको दुर्गाले आरोप लगाउदै आएकी छन् ।

कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आर्चायले निर्मला घटनाको अनुसन्धान जारी रहेको बताए । निर्मला हत्या भएको झण्डै १५ महिना वितिसक्दा पनि प्रहरीले अझैसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन ।