तराईमा छठको रौनक सुरु



सैघाली खबर
जनकपुर, ६ कार्तिक । भोली मंगलबार देखि सुरु हुने चार दिवसीय छठ पर्वको तयारी पूरा भएको छ । छठ पूजा हुने पवित्र नदी तथा तलाउका घाटहरुलाई आकर्षक रुपले श्रृंगार गरिंदैछ । पोखरी र नदी नभएका उत्तरी धनुषाका गाउँहरुमा ईनारहरुलाई सफा गरिएका छन् । पूजा सामग्रीहरुको बिक्री ह्वातै बढेको छ ।

जनकपुरका गंगासागर, धनुषसागर, महाराजसर, रुकमिनीसर, अंगराजसर, दशरथ तलाउसंगै दूधमती तथा जलाद नदीलाई सफा गरिएका छन् । पोखरी तथा नदीका किनारहरुलाई आकर्षक रुपले सजाइएका छन् । यसका अतिरिक्त धनुषाका कमला, जमुनी, जलादलगायतका नदीहरुलाई पनि सफा गरिएका छन् । छठ पूजा नदी तथा तलाउहरुको किनारमा मान्ने चलन छ ।

यस लौकिक पर्वमा केरा, नरिवल, ऊखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा सख्खरबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायतका पारम्परिक परिकारहरु प्रसादको रुपमा चढाइन्छ । पूजा सामग्रीहरु स्थानीय स्तरमा निर्मित माटाको भाडो तथा बाँसको टोकरीमा राखेर पूजा स्थलसम्म पुर्‍याइने हुँदा यी सामानहरुको बिक्री अचेल उत्कर्षमा छन् ।

माटाका भाडा निर्माण गर्ने कुमाल तथा बाँसका सरसमान बनाउने डुमहरु व्यस्त बनेका छन् । उनिहरुलाई पूजा सामग्री बनाउन भ्याइ–नभ्याई भएको छ ।

छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ । केरा, नरिवल लगायतका पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भन्टाबारीसंगै भारतको असाम, पटना, मोकामा, हांजीपुर तथा बिरपुरलगायतका सहरबाट गरिएको फलफूल बिक्रेताहरु बताउँछन् । अचेल जनकपुुरको जानकी मन्दिर, रामचोक, जनकचोकलगायत चोकहरुमा केरा, नरिवललगायतका पूजा सामग्रीहरुको सयौं पटके पसल खुलेका छन् ।

फलफूल बिक्रेता धीरज पूर्वेका अनुसार– सामान्य दिनहरुको तुलनामा फलफूलहरुको बिक्री दश गुणासम्म बढेको छ । उनले भने, ‘स्थानीय उत्पादनले धान्न नसकेको कारण अचेल पूजा सामग्रीहरु भारतका विभिन्न सहरबाट पनि आपूर्ति गरिएका छन् ।’

जानकी फ्रुट सेन्टरका संचालक रविन खटिकका अनुसार छठ पूजा प्रयोजनका लागी जनकपुरमा पाँच करोडभन्दा अधिक मूल्य बराबरको फलफूल आपूर्ति गरिएको छ । असामबाट १६ ट्रक चम्पा केरा तथा भन्टाबारी, इनर्वा एवं भारतको बिरपुरबाट ३५ गाडी गोपाल केराको आपूर्ति गरिएको खटिकले बताए । १ ट्रकमा १ हजार ५ सय घाडीसम्म केरा हुन्छ । एक घरी केराको मूल्य न्युनतम साढे ४ सय देखि ७ सयसम्म छ ।

गत वर्षको तुलनामा केराको मूल्य दोब्बरले बढेको क्रेताहरु बताउँछन् । छठ पूजा सामग्री खरीद गर्न यहाँ आएका बघचौडाका रामखेलावन कापरका अनुसार गत वर्ष अढाई सयमा खरीद गरिएको सानो एक घरी केराको मूल्य यस वर्ष ५ सयभन्दा अधिक छ ।

फलफूल व्यावसायी रविन खटिकका अनुसार यस वर्ष केराको आपूर्ति कम भएको कारण मूल्य बढेको हो । गत वर्ष छठ प्रयोजनको लागी बाहिरबाट ६० ट्रक केरा आपूर्ति भएकोमा यस वर्ष ४० देखि ४५ ट्रक केरामात्र आपूर्ति हुनसकेको खटिकले बताए ।

अगामी शुक्रवार उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरी छठमहापर्व सम्पन्न हुनेछ ।

ब्रतालुहरु मंगलबार पवित्र जलाशयहरुमा स्नानगरी चोखो खानेकुरामात्र खान्छन् । जसलाई नहाय खाय भनिन्छ । पर्वको दोश्रो दिन बुधबार ब्रतालुहरु दिनभरि उपवास बसी राति गुलीयो पूरी, खीर, नून नहालेको तरकारी खान्छन् । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ ।

षडना पछि निराहार ब्रत बस्ने ब्रतीहरु बिहीबार संझुका अघर््य अर्थात् सन्ध्याकालीन सूर्य पूजा तथा शुक्रबार बिहान सूर्योदयसंगै भोरका अर्घ प्रदान गरी यस महापर्वलाई समापन गर्नेछन् अनि ब्रतालुहरु अन्न जल ग्रहण गर्छन् ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्