तस्वीर सौजन्य : गोरखापत्र दैनिक

टप फिचर

विदेशमा हासिल विज्ञता स्वदेशमा उच्च आकर्षण

By थाहा अनलाइन

November 20, 2019

काठमाडौं, मंसिर ४ । विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ ।

गएको वैशाखमा औपचारिक रूपमा स्थापना भएको ब्रेन गेन सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो ।

परराष्ट्र मन्त्रालयको आह्वानअनुसार विदेशमा अनुभव सँगालेका नेपाली सेन्टरमा उत्साहजनक रूपमा जोडिन आइपुगेका छन् । अझै आउने क्रम जारी छ तर दर्ता भएका विज्ञलाई राष्ट्रिय विकासको योजनासँगै जोडेर लैजान नसक्दा अन्योल बढेको छ । मन्त्रालयका अनुसार ठोस कार्य्विधिको अभावमा कुन निकायसँग कसरी समेटिएर जाने भन्ने अन्योल बढेको हो ।

’अलिकति प्रचारप्रसार र यसको प्रभावकारिताकै जानकारी नपुगेको हो कि भन्ने महसुस हामीलाई पनि भएको छ,’ नीति, योजना, विकास, कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाका प्रमुख कुमारराज खरेलले भने, ’दर्ता भएपछि विज्ञहरूले काम गर्न चाहिरहेका छन् तर मेसो मिलेको छैन ।’

उनका अनुसार दुईवटा परियोजनामा दूतावासमार्फत ब्रेन गेन सेन्टरमा जोडिएकाले काम थालिसकेका छन् तर सबैलाई दूतावासमार्फत योजनामा जोड्न सकिने अवस्था छैन । कसरी, कुन निकायमा विज्ञ पठाउने भन्ने योजना बन्न भने बाँकी रहेको उनले प्रस्ट्याए । गोरखापत्रमा खबर छ ।