छठ पर्वको आज पहिलो दिन



सैघाली खबर,
रौतहट ७ कात्तिक, । तराईवासी हिन्दुहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा पूरा भएको छ । धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व आज बाट शुरु भएको हो ।

हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ ।

छठ पूजाको आज पहिलो दिन व्रतालुहरु नुहाएर शुद्ध भई पूजाका साम्रागी तयार गरी रहेका छन् । आजको यो दिनलाई स्थानीय भाषामा नहाय खाय (नुहाएर चोखो खाने० भनिन्छ ।

छठ व्रत बस्ने बस्ने महिलाहरुले आज चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन् ।

दोश्रो दिन अर्थात भोलि बुधवार व्रतालुहरुले खरना मनाउने छन्, जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खीर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खान्छन् र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुनेछ । यस अवधिमा व्रतालुहरु पानीसमेत नखाई सूर्य भक्तिमा लीन हुन्छन् ।

महापर्व छठ अन्तर्गत बिहीवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने छ भने शुक्रवार बिहान उदयमान सूर्य लाई विधि पूर्वक अर्घ दिए पछि चार दिनको यो लोकआस्थाको महापर्व विधिवत रुपमा सकिने छ ।

छठका कारण रौतहटका प्रमुख तथा ग्रामिण बजारहरुमा समेत चहलपहल बढेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्