सैघाली खबर
रुकुम, ८ कार्तिक । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा रुकुमका दुवै क्षेत्र नेकपा माओवादी केन्द्रले जितेको थियो। रुकुम क्षेत्र नम्बर १ बाट माओवादीका गणेशमान पुन र क्षेत्र नम्बर २ बाट जनार्दन शर्मा सांसदमा विजयी भएका थिए।
पटक–पटक चर्चामा आइरहने जिल्लामध्ये एक हो रुकुम। चाहे तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा रोल्पासँगै रुकुमलाई पनि आफ्नो मुख्य आधार क्षेत्र बनाएर होस् वा मुलुक संघीय संरचनामा गएपछि जिल्ला टुक्रिएर होस्। अघिल्लो निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्र रहेको रुकुमलाई टुक्र्याएर अहिले दुईवटा जिल्ला बनाइएको छ
साविकको क्षेत्र नम्बर १ रुकुम पूर्व र क्षेत्र नम्बर २ लाई रुकुम पश्चिम भनेर नामांकरण गरिएको छ। दुवै छुट्टा–छुट्टै प्रदेशमा परेका छन्। त्यसैले पनि रुकुम चर्चामै छ। चर्चामै रहेको रुकुमले यतिबेला भने मंसिर १० मा हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका कारण फेरि सबैको ध्यान आफूतिर तानेको छ। त्यसको प्रमुख कारण हो–माओवादी केन्द्रका प्रभावशाली नेता पूर्व गृहमन्त्री जनार्दन शर्मा र कांग्रेसका पुराना नेता गोपालजीजंग शाहको उम्मेदवारी।
दुई जना हेविवेटकै कारण रुकुम पश्चिमको चुनावी माहौल निकै तातिएको छ। त्यतिमात्रै होइन दुई जनाको उम्मेदवारीको अर्को रोचक विषय पनि छ– त्यो हो प्रतिनिधि सभा निर्वाचनमा शर्मा र शाह एकअर्काविरुद्ध तेस्रो पटक उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।
सशस्त्र द्वन्द्व सुरु हुनु अघि रुकुममा कांग्रेसको प्रभाव बढी थियो। २०४८ सालमा भएको आम निर्वाचनमा कांग्रेसका तर्फबाट शाह र संयुक्त जनमोर्चाको तर्फबाट जनार्दन शर्माबीच नै प्रतिस्पर्धा भएको थियो। जुन निर्वाचनमा कांग्रेसका शाहले शर्मालाई पराजित गरेका थिए।
२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गरेपछि जनार्दन भूमिगत भएका थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा माओवादीले जनार्दनलाई रुकुम क्षेत्र नम्बर २ बाट उम्मेदबार बनायो। त्यतिबेला शर्माले कांग्रेसकै उम्मेदवार प्रेम प्रकाश ओलीलाई भारी मतले पराजित गरेका थिए।
२०४८ सालमा आम निर्वाचन जितेका गोपालजीजंग शाह भने ०६४ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका थिए। पहिलो संविधान सभा संविधान जारी नै नगरी विघटन भएपछि २०७० सालमा फेरि दोस्रो पटक संविधान सभाको निर्वाचन भयो। त्यो निर्वाचनमा पनि माओवादीका तर्फबाट जनार्दन नै उम्मेदवार बने। कांग्रेसले दोस्रो पटक जनार्दनविरुद्ध गोपलाजीजंगलाई नै उम्मेदवारका बनायो।
२०४८ को आम निर्वाचनमा जनार्दनलाई पराजित गरेर सांसदमा जित हासिल गरेका तिनै गोपालजीजंग दोस्रो भेटमा भने पराजित भए। जनार्दनले झण्डै त्यतिबेला १२ हजार मतान्तरले शाहलाई पराजित गरे। दुई पटक एकअर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका यी दुई नेता शर्मा र शाह मंसिर १० मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा फेरि उम्मेदवार बनेका छन्।
तेस्रो पटक दुई नेता चुनावी मैदानमा उत्रिएपछि शाह र शर्मामध्ये कसले बाजी मार्ने हो भन्ने चासोको विषय बनेको छ। कांग्रेसका गोपालजीजंग २०४८ र ०५१ मा यही क्षेत्रबाट सांसद जितेका व्यक्ति हुन्। ०४८ सालमा जनार्दनलाई हराएका गोपालजीजंगले ०५१ को निर्वाचनमा एमालेका शेरबहादुर केसीलाई भारी मतान्तरले पराजित गरेका थिए। कांग्रेसबाटै लगातार तेस्रो पटक २०५६ सालमा उम्मेदवार बनेका शाह एमालेकी तिर्था गौतमसँग झण्डै चार सय मतले पराजित भए।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा जनार्दनले कांग्रेसका उम्मेदवार प्रेम प्रकाश वलीलाई पराजित गरेका थिए। त्यतिबेला जनार्दनले ३० हजार भन्दा बढी मत पाएका थिए भने कांग्रेसका प्रेम प्रकाश वलीले ९२ सय ५० मत ल्याएका थिए। तर, २०७० सालमा भएको निर्वाचनमा भने माओवादीको भोट रुकुम क्षेत्र नम्बर १ मा घटेको थियो।
२०७० सालको निर्वाचनमा फेरि गोपालजीजंगलाई कांग्रेसले उम्मेदवार बनायो। उनका प्रतिस्पर्धी थिए, माओवादीका जनार्दन शर्मा। जनार्दनसँग उनको दोस्रो भेट थियो निर्वाचनमा। पहिलो पटक जनार्दनलाई हराएका गोपालजीजंग दोस्रो संविधानसभा निर्वाचनमा भने झण्डै १३ हजार मतान्तरले पराजित भए। जनार्दनले २२ हजार भन्दा बढी भोट पाउँदा गोपालजीजंगले जम्मा ९७ सय ७३ मत पाएका थिए।
तर, जनार्दनसँग भारी मतान्तरले पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा माओवादीका जनार्दनले कांग्रेसका शाहलाई झण्डै १३ हजार मतान्तरले पराजित गरेका थिए। २०५६ सालको निर्वाचन यता रुकुममा कांग्रेसले चुनाव जित्न सकेको छैन। माओवादीले सशस्त्र द्वन्द्वको सुरुवात गर्नुअघि यो क्षेत्र कांग्रेस बाहुल्य क्षेत्र भनेर चिनिथ्यो। तर, सशस्त्र द्वन्द्वपछि भने कांग्रेस दोस्रो पार्टीका रुपमा रहदै आएको छ।
कांग्रेसले मंसिर १० मा हुने प्रतिनिधि सभा निर्वाचनमा शाहलाई चौथो पटक उम्मेदवार बनाएको छ। तर, उनको जनार्दनसँगको भेट भने तेस्रो हो। प्रदेश नम्बर ६ मा पर्ने रुकुम पश्चिममा मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी र त्रिवेणी गाउँपालिका पर्दछन्।
२०६४ र ७० सालमा भएको संविधान सभाका दुई निर्वाचनलाई हेर्ने हो भने यो क्षेत्रमा पहिलो माओवादी, दोस्रो कांग्रेस र तेस्रो एमाले छ। हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तीन नगरपालिका र तीन गाउँपालिका प्रमुखले पाएको मतमात्रै जोड्दा रुकुम पश्चिममा माओवादी केन्द्रले २७ हजार ४ सय ३१ मत पाएको छ भने कांग्रेसले १९ हजार ६७ र एमालेले ८४ सय ४ मत पाएका छन्।
माओवादी केन्द्र र एमालेबीच प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा अहिले चुनावी गठबन्धन छ। कांग्रेसले राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका दलहरुसँग गठबन्धन गरेको छ। माओवादी र एमाले मिल्दा रुकुम पश्चिम क्षेत्रमा कांग्रेसभन्दा दोब्बर मतले अघि देखिन्छ।
पहिलो र दोस्रो संविधान सभा निर्वाचन तथा स्थानीय तह निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने रुकुम पश्चिममा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शर्माको जित सुनिश्चित जस्तै देखिन्छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।