रोल्पामा दुई पुन ‘ वर्षमानको मतभारीको संकेत ’



सैघाली खबर
रोल्पा, ८ कार्तिक । आइतबार रोल्पा पुगेर एमालेको समर्थनमा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन निकै उत्साहि देखिन्थे।  

हुन पनि उनी प्रदेश सभाका लागि आफ्नै पार्टीका दुई उम्मेदवार कुलप्रसाद केसी र दीपेन्द्र पुनसँग वाजागाजासहित जिल्ला निर्वाचन कार्यालय पुगेका थिए। उनीहरूको साथमा थिए वाम गठबन्धनको अर्को पार्टी एमालेका नेता गोकुल घर्ती।

मनोनय दर्ता गरेपछि वर्षमान पुनसँगै गोकुल घर्तीले समेत संक्षिप्त मन्तव्य दिए। त्यही क्रममा वर्षमानले हौसिँदै भने, ‘एमाले र माओवादी केन्द्रको भोट जोड्दा देशभरी अहिले नै १०० सिटमा वाम गठबन्धन अगाडि छ, यही हिसावले तालमेल अगाडि बढ्यो भने प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कांग्रेस १० सिटमा सिमित हुनेछ।’

 

माओवादीमा राजनीतिक हिसाबकिताब राख्न खप्पिस नेताका रुपमा परिचित वर्षमानले निकै हौसिएर यो प्रक्षेपण गर्नुमा सायद उनको आफ्नै जिल्ला रोल्पामा गठबन्धनको बलियो अवस्था पनि हो।

रोल्पा माओवादी जनयुद्धको ‘आधार इलाका’ मानिन्छ र यसको अर्थ हो पहिलेदेखि नै यहाँ माओवादीको पकड बलियो छ। हुन पनि एमालेसँग चुनावी तालमेल र एकताको घोषणा हुनु अघिसम्म प्रत्यक्षतर्फ माओवादीले जित्ने थोरै जिल्लामध्यै रोल्पाकै नाम पहिला लिइन्थ्यो।

रोल्पा यस्तो जिल्ला हो, जहाँबाट माओवादीको उपल्लो तहका नेताहरुको उपस्थिती उल्लेखनीय छ। ०६४ सालपछिका हरेक निर्वाचनमा माओवादीले रोल्पामा कहिल्यै पछाडि फर्किनुपरेको छैन। देशैभरी कमजोर मतपरिणाम आउँदापनि ०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा तत्कालिन एकीकृत माओवादीले रोल्पाका दुवै निर्वाचन क्षेत्रमा बाजी मारेको थियो।

त्यसो त हरेक पटकका निर्वाचनमा रोल्पा माओवादीका लागि प्रतिष्ठाको विषय बन्ने गर्छ। यसपटक एमालेसँग तालमेल गर्दा पनि माओवादीले रोल्पाका प्रदेश सभाका दुई र प्रतिनिधि सभाको एक सिट आफ्नै पोल्टामा पारेको छ। मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ प्रतिष्पर्धा गर्दैछन् भने प्रदेश सभाका लागि माओवादी केन्द्रका जिल्ला नेताद्वय कुलप्रसाद केसी र दीपेन्द्र पुनले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, प्रतिनिधिसभा निर्वाचनमा एक क्षेत्र कायम गरिएको रोल्पाबाट नेपाली कांग्रेसले बहालवाला सिंचाइ राज्यमन्त्री अमरसिंह पुनलाई उम्मेदवार बनाएको छ। पुन कांग्रेसका रोल्पा जिल्ला सभापति समेत हुन्। प्रदेश सभामा कांग्रेसले क्षेत्र नम्बर क बाट शेरबहादुर महरा र ख बाट खगेन्द्र हमाललाई उम्मेदवार बनाएको छ।

निरन्तर माओवादी
पहिलो संविधान सभा निर्वाचनमा रोल्पाका दुवै क्षेत्रमा तत्कालिन नेकपा माओवादीले जित हासिल गरेको थियो। त्यसबेला भर्खरै शान्ति प्रकृयामा आएको माओवादीलाई भारी मतले रोल्पाले जिताएर काठमाडौं पठाएको थियो। उक्त निर्वाचनमा रोल्पा–१ बाट माओवादी नेतृ जयपुरी घर्ती विजयी भएकी थिइन्। उनले २६ हजार ५ सय ५ मत ल्याएकी थिइन।

यस्तै, क्षेत्र नम्बर २ बाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३४ हजार २ सय २० मतका साथ विजयी भएका थिए। प्रचण्ड रोल्पा–२ र काठमाडौं–१० बाट विजयी भएका थिए। आफू विजयी भएका दुई क्षेत्रमध्ये उनले काठमाडौं–२ लाई रोजे, रोल्पा छाडिदिए। दाहालले छाडेपछि भएको उपनिर्वाचनमा रोल्पा थवाङका माओवादीकै प्रभावशाली नेता सन्तोष बुढामगर विजयी भएका थिए।

संविधान सभाको दोश्रो निर्वाचनमा पनि रोल्पाबाट तत्कालिन एकीकृत माओवादी विजयी भयो। दोश्रो संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट कृष्णबहादुर महरा विजयी भएका थिए भने दुई नम्बर क्षेत्रबाट पूर्व सभामुख ओनसरी घर्ती विजयी भएकी थिइन्।

दोब्बर मतान्तर 
स्थानीय तह निर्वाचनमा १ नगरपालिकासहित रोल्पाका १० तहमध्ये सबैभन्दा बढि माओवादी केन्द्रले १ नगरपालिकासहित ७ तह जितेको थियो। एमाले २ र कांग्रेस १ तहमा विजयी भएका थिए। कांग्रेस र एमालेले २ र १ तहमा मात्र जितेपनि माओवादीको प्रभाव क्षेत्र रोल्पमा भएको यो विजयलाई महत्वका साथ हेरिएको थियो।

१० वटै तहका वडाको नतिजामा पनि माओवादी नै अग्रस्थानमा रहेको छ। रोल्पाका ७२ वडामध्ये माओवादी केन्द्र ४८, कांग्रेस ११, एमाले ११ र स्वतन्त्र २ वडामा विजयी भए।

माओवादी केन्द्रबाट नगर प्रमुख र गाउँपालिका अध्यक्षका प्रत्यासीको कुल मत ३३ हजार ६ सय ७४ हुन आउँछ। यस्तै, कांग्रेसबाट गाउँपालिका अध्यक्षमा प्रतिष्पर्धा गरेका सम्पूर्ण प्रत्यासीको मत जोड्दा २३ हजार २ सय ४७ हुन्छ।

एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासीले प्राप्त गरेको कुल मत १५ हजार ६४६ छ। यसपटक माओवादी केन्द्र र एमाले तालमेल गरेर निर्वाचनमा गएकाले दुवै पार्टीको मत एकै ठाउँमा पर्छ। दुवै पार्टीका तर्फबाट नगरप्रमुख र गाउँपलिका अध्यक्षको मत जोड्दा ४९ हजार ३२० पुग्छ। जबकी कांग्रेसको कुल मत २३ हजार २ सय ४७ भन्दा दुई पार्टीको कुल मत दोब्बर भन्दा बढि हुन पुग्छ।

 

कांग्रेसले रोल्पामा कमल थापा नेतृत्वको राप्रपासँग गठबन्धन बनाएर निर्वाचन लड्ने भएको छ। तर गत स्थानीय तह निर्वाचनमा राप्रपाको मत निकै कमजोर छ। राप्रपाले १० स्थानीय निकायमध्ये ६ वटामा मात्र उम्मेदवारी दिएको थियो। त्यसमध्ये पनि लुङ्ग्री गाउँपालिका अध्यक्षमा प्राप्त गरेको १०११ राप्रपाको सबैभन्दा बढि मत हो। यसपटक सम्पूर्ण गाउँपालिका अध्यक्ष र नगरप्रमुखमा राप्रपाले प्राप्त गरेको मत जोड्दा १ हजार ५९० मात्र पुग्छ। यो मतले कांग्रेसलाई भरथेग गर्ने सम्भावना छैन।

विगतको मतको ‘ट्रेन्ड’ हेर्दा र स्थानीय तहको मत परिणाम जोड्दा यसपटक रोल्पामा वर्षमान पुनको ‘भाग्य’ चम्किने सम्भावना छ। माओवादी लडाकु कमाण्डर हुँदै अर्थमन्त्रीसम्मको अनुभव बटुलेका वर्षमान आफ्नो गृहजिल्ला रोल्पाबाट पहिलोपटक निर्वाचन लड्दैछन्।

यसअघि पहिलो संविधान सभा निर्वाचनमा पुन ललितपुर–१ बाट निर्वाचित भएका थिए। दोश्रो संविधानसभा निर्वाचनमा भने उनी मोरङबाट प्रतिष्पर्धा गर्न पुगे, जहाँ पराजय ब्यहोरे।

संभवतः राजनीतिक फड्को मार्न उनले यसपटक चुनाव जित्नै पर्ने ठाने र ‘आधार इलाका’ फर्किए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्