दाङका ६ सहित राप्तीका १६ नयाँ स्वास्थ्य भवन निर्माण हुने



दिपक बोहरा,
दाङ ११ कात्तिक।

 

चालु आर्थिक वर्षमा साविक राप्तीका १६ स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि दाङका छसहित साबिक राप्तीका १६ वटा स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने स्वीकृति प्रदान गरेको हो ।
दाङको राप्ती उपक्षेत्रीय अस्पतालको आठ परिवारको डाक्टर क्वाटर निर्माण हुने भनी मन्त्रालयले स्वीकृति दिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।जनार्दन पन्थीले बताए ।

त्यस्तै लमही अस्पताल, स्वास्थ्य चौकी मानपुर, स्वास्थ्य चौकी ढिकपुर, बाघमारे प्राथामिक स्वास्थ्य केन्द्र, गढवा प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण हुने भएका हुन् ।
साविक राप्तीको प्यूठानमा सात, दाङमा छ, रोल्पामा दुई र रुकुममा एउटा स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण हुने भएका हुन् । प्यूठानको कोर्चिवाङ स्वास्थ्य चौकी, चुँजा स्वास्थ्य चौकी, भिंग्री स्वास्थ्य चौकी, जिल्ला अस्पताल प्यूठान, तुसारा स्वास्थ्य चौकी, सोत्रे बेल्वासे स्वास्थ्य चौकी, ओखरबोट स्वास्थ्य चौकी रहेका छन् ।
त्यस्तै रोल्पाको उवा स्वास्थ्य चौकी, ईरिवाङ स्वास्थ्य चौकी र रुकुमको जिल्ला अस्पताल रुकुमको नयाँ भवन निर्माण हुने भएका हुन् । गत आर्थिक वर्षमा राप्तीका ११ वटा स्वास्थ्यका नयाँ भवन निर्माण गर्न मन्त्रालयले स्वीकृति दिएको थियो । ती भवनहरु अहिले सम्बन्धित जिल्लाका भवन डिभिजन कार्यालयले निर्माण प्रक्रिया शुरु गरिसकेका छन् ।

‘गत वर्ष १२ कोठे नर्सिङ क्वाटर निर्माण गर्ने भनी स्वीकृति प्रदान गरेको थियो’ उनले भने ‘त्यो भखरै टेण्डर परेको छ ।’ उनले थपे ‘चालु आर्थिक वर्षमा पनि उपक्षेत्रीय अस्पतालमा आठवटा डाक्टर क्वाटर निर्माण बनाउन मन्त्रालयले स्वीकृति दिएको छ । जसले गर्दा डाक्टरहरुलाई सेवा प्रवाहमा सहजता ल्याउने छ ।’ स्वास्थ्यका नयाँ भवनहरु निर्माण गर्ने जिम्मा भवन डिभिजन कार्यालयले लिने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका ती संस्थालाई भवन निर्माण गर्ने स्वीकृति दिएको हो । मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित देशभरका दुईसय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माण तथा डाक्टर आवाससमेत निर्माण गर्न छनौट गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्