स्वास्थ्य

दाङका ६ सहित राप्तीका १६ नयाँ स्वास्थ्य भवन निर्माण हुने

By थाहा अनलाइन

October 28, 2017

दिपक बोहरा, दाङ ११ कात्तिक।

 

चालु आर्थिक वर्षमा साविक राप्तीका १६ स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि दाङका छसहित साबिक राप्तीका १६ वटा स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने स्वीकृति प्रदान गरेको हो । दाङको राप्ती उपक्षेत्रीय अस्पतालको आठ परिवारको डाक्टर क्वाटर निर्माण हुने भनी मन्त्रालयले स्वीकृति दिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।जनार्दन पन्थीले बताए ।

त्यस्तै लमही अस्पताल, स्वास्थ्य चौकी मानपुर, स्वास्थ्य चौकी ढिकपुर, बाघमारे प्राथामिक स्वास्थ्य केन्द्र, गढवा प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण हुने भएका हुन् । साविक राप्तीको प्यूठानमा सात, दाङमा छ, रोल्पामा दुई र रुकुममा एउटा स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण हुने भएका हुन् । प्यूठानको कोर्चिवाङ स्वास्थ्य चौकी, चुँजा स्वास्थ्य चौकी, भिंग्री स्वास्थ्य चौकी, जिल्ला अस्पताल प्यूठान, तुसारा स्वास्थ्य चौकी, सोत्रे बेल्वासे स्वास्थ्य चौकी, ओखरबोट स्वास्थ्य चौकी रहेका छन् । त्यस्तै रोल्पाको उवा स्वास्थ्य चौकी, ईरिवाङ स्वास्थ्य चौकी र रुकुमको जिल्ला अस्पताल रुकुमको नयाँ भवन निर्माण हुने भएका हुन् । गत आर्थिक वर्षमा राप्तीका ११ वटा स्वास्थ्यका नयाँ भवन निर्माण गर्न मन्त्रालयले स्वीकृति दिएको थियो । ती भवनहरु अहिले सम्बन्धित जिल्लाका भवन डिभिजन कार्यालयले निर्माण प्रक्रिया शुरु गरिसकेका छन् ।

‘गत वर्ष १२ कोठे नर्सिङ क्वाटर निर्माण गर्ने भनी स्वीकृति प्रदान गरेको थियो’ उनले भने ‘त्यो भखरै टेण्डर परेको छ ।’ उनले थपे ‘चालु आर्थिक वर्षमा पनि उपक्षेत्रीय अस्पतालमा आठवटा डाक्टर क्वाटर निर्माण बनाउन मन्त्रालयले स्वीकृति दिएको छ । जसले गर्दा डाक्टरहरुलाई सेवा प्रवाहमा सहजता ल्याउने छ ।’ स्वास्थ्यका नयाँ भवनहरु निर्माण गर्ने जिम्मा भवन डिभिजन कार्यालयले लिने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका ती संस्थालाई भवन निर्माण गर्ने स्वीकृति दिएको हो । मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित देशभरका दुईसय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माण तथा डाक्टर आवाससमेत निर्माण गर्न छनौट गरेको छ । ​