सैघाली खबर,
काठमाडौं, ११ –कात्तिक ।९अपडेट० धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट १९ जनाको शव निकालिएको छ । अहिलेसम्म तीन बालक, एक बालिका, ७ महिला र ८ जना पुरुषको शव निकालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
अहिलेसम्म सप्तरीका ६ वर्षका आदित्य यादव र भारत मधुवनीकी ममतादेवी ठाकुरको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । अरुको परिचय खुल्न बाँकी छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बर बस शनिबार बिहान गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको हो ।
प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १६ जनाको उद्धार गरिएको छ ।
घाइते मध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
५५ जनाले टिकट काटेर चढेकाले २० जना भन्दा बढी हराइरहेको अनुमानमा खोज तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।