त्रिभुवन विश्वविद्यालयले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा एक लाखसम्म खर्च गर्ने भएको छ ।
त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत् प्रतिविद्यार्थी एक लाखसम्म उपचार खर्च उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । प्रतिविद्यार्थी ५० हजारसम्मको खर्च गर्ने गरेको त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट सुविधा दिनेछ ।
तोकिएका अस्पतालसँग त्रिविले उपचार खर्चका लागि एक लाखसम्म खर्च गर्ने सम्झौता गरेको छ । देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले सुविधा पाउने छन् । यसै आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पतालसँग सम्झौता गर्ने तयारी गरिरहेको जनाइएको छ ।
त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले क्याम्पसको सिफारिसमा गएका विद्यार्थीले उक्त सुविधा पाउने बताए । उनले आफूहरुले उपचार खर्च पूर्ण निःशुल्क गराउन माग गरेको ए । क्याम्पसले विद्यार्थीबाट उपचार खर्च भनेर प्रतिविद्यार्थी पाँच सय शुल्क लिदै आएको उनले बताए । त्रिविले आव २०७३/०७४ देखि विद्यार्थीको स्वास्थ्य उपचार कोष खडा गरेर उपचारमा सहयोग गर्दै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।