तुलसीपुर
दाङ बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल चढेको गाडिमा तोडफोड गरिएको छ । शनिबार बबई गाउँपालिकाका कर्मचारीले पुरन्धारामा आयोजना गरेको बनभोज कार्यक्रमबाट फर्किने क्रममा स्थानीयले तोडफोड गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डक्टरप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका अध्यक्षको गाडिले स्थानीय एक महिलाको दाँया खुट्टामा सामान्य चोट लागेको घटनालाई लिएर गाउँपालिका अध्यक्ष चढ्नेरा १ झ १५० नम्बरको सरकारी गाडिमा तोडफोड गरिएको हो । तोडफोडबाट उक्त गाडिको अगाडिको सिसा, लुकिङ ग्लासलगायतमा क्षति भएको हो ।
साथै उक्त गाडिमा सवार गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेललाई कुटपिट गर्ने समेत प्रयास गरेको गाउँपालिकाका प्रेस सल्लाहकार बालकृष्ण पाण्डेले बताए । ‘ उक्त गाडिमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत भिष्म मल्ल, बबई गाउँपालिका वडा नं. ६ का अध्यक्ष रामबहादुर डाँगी, लेखा अधिकृत चढ्नु भएको थियो’ उनले भने‘ त्यस क्रममा गाउँपालिका अध्यक्षलाई नै कुटपिट गर्ने प्रयास भएको थियो, सबै मिलेर सुरक्षा दिएका थियौं ।’
बनभोज खाएर शनिबार साँझ ४ बजेतिर फर्किने क्रममा उक्त घटना भएको हो । ति महिलाको अबस्था भने सामान्य रहेको छ । अहिले तोडफोड गरिएको गाडिलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।