काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ ।
कामपाको ३२ वटै वडामा रहेका खुला स्थान र विपद्को जोखिमपूर्ण क्षेत्रको पहिचानसहित ती स्थानको नक्सा बनाउने काम भइरहेको जनाएको छ । नेपाल रेडक्रम सोसाइटीको सहयोगमा जोखिम क्षेत्रको नक्सा बनाउने काम भइरहेको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
भूकम्प र आगलागीजस्ता विपद्का दृष्टिकोणले काठमाडौँ जोखिमपूर्ण मानिएको छ । विपद्का घटनालाई आधारमानी जोखिमको उपाय अवलम्बन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक विपद्को दृष्टिकोणले जोखिम रहेको छ । क्षति न्यूनीकरणका लागि वडास्तरीय प्रशिक्षणको काम भइरहेको छ ।”
कामपाले वडा २१, ७ र १२ मा विपद् व्यवस्थापनको लागि वडावासीलाई तालीमको व्यवस्था गरिसकेको जनाएको छ । बाँकी वडामा गर्ने तयारी रहेको रहेको छ ।
विपद्को समाधान गर्न ३२ वटै वडामा वडास्तरीय समिति पनि चयन गरेको छ । ती समिति नौ सदस्य रहने व्यवस्था गरिएको छ । समितिको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडासदस्य रहने व्यवस्था छ । हरेक वडामा २५ देखि ४० जनासम्म स्वयंसेवक रहन सक्ने व्यवस्था गरिएको छ ।
समितिले कामपा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ अनुरुप काम गर्नेछ । आगलागीका घटना नियन्त्रणका लागि दमकल खरीद र दमकल स्टेशन निर्माण कार्य भइरहेको छ । भूकम्पीय क्षति कम गर्नका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण जोड दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।