बैदेशिक रोजगार

म्यानपावरमा विभागको छापाः कामदारसँग बुझिसकेको एक लाख ८५ हजार बरामद

By Thah Online

December 09, 2019

काठमाडौं, मंसिर २३ । बैदेशिक रोजगार विभागले संयुक्त अरब इमिरेट्समा (युएई) जान लागेका दुई जना कामदारसँग एक लाख पचासी हजार असुली गरिहेको रकम बरामद गरेको छ । आइतबार सिनामङ्गलस्थित रसुवा ओभरसिजमा विभागले छापा मार्दा यति ठुलो रकमा बरामद गरिएको विभागले जनाएको छ ।

(युएई) जान लागेका दुई जना कामदारसँग एक लाख पचासी हजार वुझिसकेको अवस्थामा रङ्गेहात फेलापारी नगद रकम वरामद गरिएको विभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले बताए । वैदेशिक रोजगारमा जाने कामदारसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजारका दरले रकम माग गरिरहेको भन्ने उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले आइतवार सो म्यानपावरमा छापा मार्न पुगेको थियो ।

दुवईको टमाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेवरको पदमा मासिक ८ सय दिराम तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजार माग गरिरहेको भनी सुरेन्द राना मगर ,वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर,सन्त वहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए । सोहि उजुरी प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन टोली त्यहाँ पुगेको हो ।

विभागको टोली म्यानपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वमजनले योग वहादुर गरुम्छानवाट रु ७० हजार र सन्त वहादुर गरञ्जा मगरवाट रु एक लाख दस हजार वुझिसकेको र वाँकी तीन जनासँग रकम वुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकम सहित रङ्गेहात फेलापारेको हो ।

अन्य तीन जनासँग यस भन्दा अघि नै जितवहादुर वमजनले नगदै रु पैतीस हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार म्यानपावर कार्यलय वोलाएका थिए । रकम लिनको लागि जित वहादुर वमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन । पाँच जनामध्ये चार जनाको श्रम स्वीकृती निक्लिसकेको अवस्थामा म्यानपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइटिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ ।

पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको बढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराईएको महानिर्देशक भुसाल बताए ।

युएईका लागि टिकट र भिषा शुल्क समेत निशुल्क हुनेगरी सरकारले श्रम सम्झौता गरेको छ तर अझैपनि युवाहरुले लाखौँ रकम तिर्नुपर्ने अवस्था कायमै छ भने विभागले भने उजुरी दिएमा कसुर गर्नेलाई कारवाही गरि पीडितलाई न्याय दिंदै आएको छ । थप अनुसन्धानको लागि रकम वुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको भुषालले बताए । पाँचै जनालाई वुधवारको टिकट म्यानपावरले उपलव्ध गराएको छ ।

वैदेशिक रोजगारमा जाने नेपालीहरूले विदेशमा पीडा भोगिरहे पनि सबैभन्दा पहिले नेपालबाटै पीडित बन्नु परिरहेको गुनासो आएपछि विभागले अनुगमनलाई तिव्रता दिएको छ ।विभागले अनुगमन गरी बढी रकम असुल्ने मेनपावरलाई कानुनी दायरामा ल्याउने भएको हो ।