खेलकुद

एसिया कप छनौट खेल्न कीर्गिस्तान जाने फुटबल टोलीको बिदाई

By थाहा अनलाइन

October 29, 2017

सैघाली खबर, काठमाडौं, १२ कात्तिक

मंगलबारदेखि कीर्गिस्तानमा सुरु हुने १९ वर्षमुनिको एसिया कप फुटबलको छनौट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा राखेपका सदस्यसचिव केशबकुमार विष्ट र एन्फाका अधिकारीहरुले टोलीको बिदाई गरेका हुन् । नेपाली टोली आइतबार कीर्गिस्तान प्रस्थान गर्दै छ ।

समूह एमा रहेको नेपालले आफ्नो पहिलो खेल मंगलबार कीर्गिस्तानसँग खेल्ने छ । यस्तै नेपालले १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्ने छ । समूहको विजेता प्रतियोगितामा छनौट हुने छ ।

यस्तै १० वटा समूहमध्येबाट उत्कृष्ट ६ उपविजेता पनि इन्डोनेसियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । अर्पण कार्की कप्तान रहेको टोलीमा गत महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् ।