१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालिन् । भारतकी शिवांगी शर्माले रजत जितिन् । योसंगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् ।
यसअघि १७ वर्षीय ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।यस्तै गौरिकाले साग खेलकुदको इतिहासमा नेपालका लागि सर्वाधिक ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेकी छिन् । उनले तेक्वान्दोका दिपक बिष्टको कीर्तिमान बराबरी गरेका हुन् । दिपकले चार संस्करणमा ४ स्वर्ण जितेका छन् । तर, गौरिकाले भने एकै संस्करणमा दिपकलाई भेट्टाए ।
गौरिकाले ४ स्वर्णसहित २ रजत र २ कास्य पनि जितिन् । गौरिकाको स्वर्णसंगै नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।