गुल्मीमा बढ्दो सवारी दुर्घटना तीन वर्षमा ४९ को मृत्यु



रमेश विश्वकर्मा
गुल्मी । पछिल्लो समय जिल्लामा सडक दुर्घटनाका घटनाहरु बढ्दै गएका छन् । अधिकांश सडकहरु साघुरा र चालकको लापरवाहीका कारण जिल्लामा सडक दुर्घटनाका घटनाहरु दिनप्रति दिन बढ्दै गएका हुन् । जिल्लामा तीन वर्षको अवधिमा ६७ सवारी साधन दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १ सय ४९ जना घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याड्ढ अनुसार आव २०७३/०७४ मा २१ सवारी साधन दुर्घटनामा परेका हुन् । जसमा ११ जनाले ज्यान गुमाएका थिए, भने ४२ जना घाइते भएका छन् । सवारी दुर्घटनातर्फ ट्रक २, बस २, जिप, कार ७, ट्याक्टर ७, मोटरसाइकल ३ दुर्घटनामा परेका थिए । त्यस्तै आव ०७४/०७५ मा १७ सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालयको तथ्याड्ढमा रहेको छ । जसमा १९ जनाले ज्यान गुमाएका थिए, भने ५० जना घाइते भएका थिए । सवारी साधनतर्फ डोजर १, बस २, जिप, कार ४, ट्याक्टर ५, मोटर साइकल ५ दुर्घटनामा परेका छन् । त्यस्तै आव ०७५/७६ मा २९ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा १९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सोही अवधीमा ५७ जना घाइते भएका छन् । सवारी दुर्घटना मध्ये बस १, जिप, कार १२, ट्क्याटर १०, मोटरसाइकल ६ रहेका छन् ।

चालु आर्थिक वर्ष ०७६/०७७ को कार्तिक मसान्तसम्म १० सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । जसमा पशुचौपाया सहित १५ जना घाइते भएका छन् । जसमा बस १, जिप ६, ट्याक्टर १, मोटरसाइकल २ दुर्घटनामा परे । प्रत्येक वर्ष दुर्घटनामा मृत्यु हुनेको संख्या र घाईतेहरुको संख्या बढ्दै गएको छ । चालु मंसिर महिनामा जिल्लामा १० जनाको दुर्घटनामा मृत्यु भईसकेको छ भने १३ जना घाईते भएका छन् । पहाडी क्षेत्रमा साघुरो बाटो, सवारी साधन दिनहँु बढ्दै जानु, चालकहरुले पूर्ण रुपमा ट्राफिक नियमको पालना नगर्नु, सडक गुणस्तरीय नहुनु, सवारी धनीले नियमित सवारी साधनको चेकजाँच नगर्दा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर गिरीले जानकारी दिए ।

कति सवारी साधन कारवाहीमा ?
पछिल्लो तीन वर्षमा १६ हजार ५ सय ४ सवारी साधन कारवाहीमा परेका छन् । जसबाट १ करोड १ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि समय–समयमा जनचतेनामूलक कार्यक्रम समेत गर्दै आएको छ । जिल्लास्थित सरकारवाला निकाय बीच छलफल समेत गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रविण आचार्यले समय समयमा सवारी दुर्घटना हुने मुख्य कारण र न्यूनिकरणका विषयमा सरकारवाला निकायलाई जानकारी गराउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्