नेपाल प्रहरी जो शान्ति सुरक्षाको प्रतिक र कानुनको रक्षा गर्ने एक रक्षक पछिल्लो समय किन भक्षक बन्दै छ । दिन प्रति दिन प्रहरीको ज्याजति र गुण्डागर्दिपन बढ्दै गएको छ ।
‘प्रहरी मेरो साथि’,‘मुस्कान सहितको सेवा’ भनाईमा मात्र सिमित भएको यर्थात सबै सामु देखाउदैछ नेपाल प्रहरी । प्रहरीको दमनलाई मात्र हेर्ने हो भने पनि लामो ऐतिहास नै बन्न सक्छ । तर धेरै समय पछिलाई नभई वर्तमान समयलाई नै हेर्ने हो भने आइतबार कोहलपुर–६ मा ना २ ख ९४५९ नम्बरको ट्रकको ठक्करबाट कोहलपुर–१० कि प्रकृति चन्द घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले विद्यालय पोशाकमा रहेका कलिला विद्यार्थीमाथि गरेको दमनबाट नै थाहा पाउन सकिन्छ प्रहरीको न्याय र मानवता कति भन्ने ।
विद्यार्थीमाथि गरेको अमानविय व्यवहार कै कारण कोहलपुरका डीएसपी हेमबहादुर शाहीको सरुवा गरीएको छ । त्यस घटना संगै मंगलबार नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) को अन्तिम दिन स्वभाविकै दर्शकको सहभागिता उच्च रहन्छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि त्यति सहज भने हुदैन् । तर त्यसो भन्दैमा सहभागि आम नागरीक दर्शकलाई लाठि प्रहार गर्ने , हातपात गर्नु त्यसलाई भने सामान्य रुपमा लिन सकिदैन ।
मंगलबार दशरथ रंगशालाको गेटमा रहेका प्रहरीले टिकटको लागि गएका दर्शकलाई कुटपिट गरेको तस्वीर र भिडियो खिचिरहेका एक पत्रकारलाई समेत छाडेनन् प्रहरीले । सुरक्षाकर्मीले लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंमाथि किन फोटो खिचेको भन्दै हातपात मात्र गरेनन् छातिमा लात्ती सम्म हाने । यो कस्तो खालको सुरक्षा नीति हो ?
पत्रकारमाथि प्रहरीले गरेको ज्यादतिको विरोधमा खेलकुद पत्रकारहरुले साग अन्तर्गत पुरुष फुटबलको फाइनलमा रिपोर्टिङ्ग नगरेर विरोध जनाएका छन् । खेलकुद पत्रकार सुमन चापागाईँमाथि प्रहरीले कुटपिट गरेपछि खेल पत्रकारहरुले सुरक्षित भएर रिपोर्टिङ गर्न पाउने अधिकारको माग गरेका छन्।
मंगलबार बिहान सागको रिपोर्टिङमा खटिएका चापागाईँमाथि सुरक्षार्थ खटिएका डिएसपी सन्तोष राठोरले कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट सुमनको कानमा चोट लागेको छ। उनको अहिले ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन् । डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकार सहित सर्वसाधारण माथि लाठी र लात्ती बर्साएका हुन् । यस्ता घटनालाई हेर्ने हो भने एउटा आम सर्वसाधरण नागरीकको स्वतन्त्रता र स्वतन्त्र पत्रकारीता गर्ने एउटा पत्रकारको अधिकारलाई नै कुण्डित गरएिको छ । यस्ता केहि प्रहरीका कारण सतकर्म गरीरहेका अन्य राष्ट्रसेवक प्रहरी र समग्र प्रहरी प्रशासन कै ईमान्दारीतामा धक्का पुग्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।