अलग–अलग मतपत्र हुने आयोग




सैघाली खबर
काठमाण्डौ १३ कार्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापिने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार आफ्नो पूर्वनिर्णय परिवर्तन गर्दै निर्वाचन आयोगले दुवै सभाको पहिलो हुने निर्वाचन प्रणाली प्रत्यक्ष तर्फको मतदानका लागि अलग–अलग पानामा मतपत्र छाप्ने निर्णय गरेको हो । यो निर्णयले मंसिर १० र २१ गते निर्धारित दुई चरणको निर्वाचन मितिमा कुनै फेरबदल नहुने आयोगले प्रस्ट पारेको छ ।

आयोगले सर्वोच्चको आदेशको प्रतिलिपिसहितको पत्र शनिबार प्राप्त गरेको थियो । आन्तरिक छलफल र कानुनविद्हरूसँगको परामर्शपछि आइतबार बसेको आयोगको बैठकले दुइटा मतपत्र छाप्ने निर्णय लिएको हो । तर, सर्वोच्चमा जवाफ नपठाइसकेकाले उक्त निर्णयलाई आयोगले सार्वजनिक गरिसकेको छैन । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सर्वोच्चको आदेशलाई सकारात्मक रूपमा लिँदै त्यसको सम्मान गर्ने गरी आयोगले निर्णय लिने बताए । उनले त्यसबारे थप खुलाउन चाहेनन् ।

सर्वोच्चले बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलग–अलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण तीन दिनभित्र पेस गर्न आयोगलाई आदेश दिएको थियो । सर्वोच्चले अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्ने जवाफसमेत आयोगसँग मागेको थियो । ‘सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पठाएसँगै दुवै सभाको प्रत्यक्षतर्फका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने काम सुरु हुनेछ,’ आयोग स्रोतले भन्यो, ‘अवहेलना मुद्दासमेत रहेकाले सर्वोच्चलाई जवाफ नपठाई निर्णय बाहिर नल्याइएको हो ।’

निर्वाचन आयुक्त सुधीरकुमार शाहले चुनाव हुन नदिने वा सार्ने षड्यन्त्र निस्तेज तुल्याउँदै आयोग निर्धारित मितिमा चुनाव गराउन जस्तोसुकै चुनौती स्वीकार गर्न तयार रहेको बताए । उनले मंसिर १० र २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताउँदै मतदातालाई ढुक्क रहन आग्रहसमेत गरे । तयारी धेरै अघि बढिसकेको र दुइटा मतपत्र छापेर जाँदा भइसकेको तयारीमा असर गर्ने साथै समय कम रहेकाले त्यसअनुसारको व्यवस्थापन गर्न चुनौती हुने भन्दै आयोग पूर्वनिर्णयअनुसार एउटै मतपत्र छाप्ने मनसायमा थियो । कार्यतालिकाअनुसार कात्तिक १० गतेदेखि मतपत्र छापिन थालेको समेत आयोगले जनाएको थियो । तर, शनिबार प्राप्त गरेको सर्वोच्चको पछिल्लो आदेशले प्रस्ट रूपमै दुवै सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग–अलग मतपत्र छाप्नुपर्ने भनेकाले आयोगलाई अर्को विकल्पमा जाने बाटो रहेन ।

‘एउटै मतपत्र छापेर जाँदा काम अघि बढिसकेको अवस्थामा सर्वोच्चको मानहानि पनि हुने र कुनै अन्तरिम आदेशले मतपत्र छपाइ रोकिँदा निर्वाचन नै प्रभावित हुने सम्भावना रहन्थ्यो,’ आयोग स्रोतले भन्यो, ‘आयोगले त्यसलाई बढी जोखिमयुक्त मान्यो । र, युद्धस्तरमा रातदिन काम गरेर भए पनि दुइटा मतपत्र छापेरै निर्धारित मितिमा निर्वाचन गराउने अठोट लिएको हो ।’

पहिलो चरणमा उम्मेदवारको संख्या दोस्रोको तुलनामा कम रहेको र त्यसले मतपत्रको आकार सानो हुने भएपछि दुइटा मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रले समेत स्वीकार गरेको छ । जनक शिक्षाले निर्धारित समयभित्रै छापेर दिन सक्ने प्रतिबद्धता जनाएपछि आयोगलाई अलग–अलग मतपत्र छाप्ने निर्णय लिन सहज भएको हो । पहिलो चरणमा हिमाल तथा पहाडका ३२ जिल्लामा निर्वाचन हुँदैछ । ती जिल्लामा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाका लागि ७४ वटा निर्वाचन क्षेत्र छन् । दुईदेखि बढीमा १७ जना उम्मेदवार छन् । अधिकांश निर्वाचन क्षेत्रमा १० जनाभन्दा कम उम्मेदवार छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् ।

आयोगले छाप्न सुरु गरेको १५ दिनभित्र पहिलो चरणको र २० दिनभित्र दोस्रो चरणको सम्पूर्ण मतपत्र छापिसक्ने लक्ष्य लिएको छ । कुल मतदाताभन्दा १२ प्रतिशत बढी मतपत्र छापिनेछन् । उम्मेदवार कम भएकाले एफोरभन्दा केही सानो आकारको पानामा दुई थरी मतपत्र छापिनेछन् । तेर्सोमा चारवटा र ठाडोमा पाँचवटा लहर हुने गरी २० वटा चिह्न अटाउने गरी मतपत्रको डिजाइन गर्न लागिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिले अपवादबाहेक समानुपातिक सांसद भइसकेकालाई त्यही अवसर नदिने निर्णय लिएको थियो । तर निर्णय उल्लंघन गरी सूची बुझाउँदा दुई पटकसम्म समानुपातिक सांसद भएका आधा दर्जन नेतालाई उम्मेदवार बनाएको छ ।

यसअघि सूचीमा एक नम्बरमै राखिएका कृष्णप्रसाद सिटौला भने प्रत्यक्षमै उठ्ने भएका छन् । राप्रपासँगको गठबन्धनको कारण जनाउँदै उनलाई समानुपातिक सूचीमा राखिएको थियो । आइतबार समानुपातिक सूचीबाट उनको नाम झिकिएको छ । ‘अब म झापाको ३ नम्बर क्षेत्रबाटै उठ्छु,’ प्रत्यक्षमा उठ्ने निर्णय भएलगत्तै सिटौलाले कान्तिपुरसँग भने, ‘म जत्तिको नेता समानुपातिकमा बस्न मिल्दैन ।’ उनले प्रत्यक्ष र समानुपातिकबाट अहिलेसम्म अवसर नपाएकालाई मात्रै त्यसमा ठाउँ दिनुपर्ने बताए ।

समानुपातिक सूचीमा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, बालकृष्ण खाँड, दिलेन्द्र बडु, सुजाता कोइराला, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, चित्रलेखा यादव, पुष्पा भुसाल, बहादुरसिंह लामा, डिला संग्रौला, सुजाता परियार र लक्ष्मी परियार छन् । समानुपातिकमा पर्नेहरूमध्ये कोषाध्यक्ष यादव, खाँड र लामा दोस्रो संविधानसभामा निर्वाचित थिए । दोस्रो संविधानसभा निर्वाचनमा झिनो मतले विजयी खाँडले यस पटक चुनाव परिचालनको जिम्मेवारी सम्हालेकाले समानुपातिकमै बसेका छन् ।

दुई पटक समानुपातिकबाट सांसद भइसकेकाहरूको नाम भने यस पटक काटिएको छ । यसअघि समानुपातिक सूचीमा राखिएका कमला पन्त, सीता गुरुङको नाम समानुपातिक सूचीबाट हटाइएको हो । केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ९डिना० को नाम पनि समानुपातिक सूचीबाट हटाइएको छ । उनलाई मकवानपुर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाइने भएको छ । म प्रत्यक्षबाटै चुनाव लड्ने पक्का भयो,’ उनले भनिन्, ‘समानुपातिकको अवसर एउटै व्यक्तिले बारम्बार लिनु राम्रो हुन्न ।’

नेताहरू गुरुङ, कोइराला, मानबहादुर विश्वकर्मा, यादव, मीन विश्वकर्मा, परियार यसअघि पनि समानुपातिकबाटै सांसद भएका थिए । एक पटक समानुपातिक सांसद भएकाले अपवादबाहेक पुनस् समानुपातिकमा नराख्ने निर्णय भए पनि वाणिज्य मन्त्रीसमेत रहेका मीनसमेत समानुपातिक सूचीमा छन् । नेतृ कोइराला स्वास्थ्यका कारण जनाउँदै समानुपातिकमा बसेकी हुन् । पूर्वकोषाध्यक्षसमेत रहेकी यादव र पार्टीका पूर्वप्रवक्ता बडुले भने आफ्नै निर्वाचन क्षेत्र असुरक्षित भएपछि समानुपातिक रोजेका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्