खेलकुदमन्त्री र सदस्यसचिवलाई बर्खास्त गर्न तरुण दलको माग



काठमाडौं , मंसिर २५ । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख दिन माग गरेको छ ।यस्तै रजत पदक विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख दिन पनि तरुण दलले माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

यसैगरी १३ औं साग खेलकुदमा भ्रष्टाचार भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र खबेलकुदमन्त्री जगत विश्वकर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।

बुधबार बिहान तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरेर साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा–सुविधामा भ्रष्टचार भएको दाबी गर्दै सदस्य सचिव सिलवाल र खेलकुदमन्त्री विश्वकर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

उनले सिलवाल र विश्वकर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही गर्नुपर्ने पनि माग गरेका छन् । तरुण दलले बिना टेण्डर साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी पाएको ई–सेवाले पनि टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको दाबी गर्दै कम्पनीमाथि छानबिन प्रकिृया सुरु गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।

तरुण दलले साग खेलकुदको रकमबाट मन्त्रीहरुलाई दौरा सुरुवाल खरीद गर्नुले देशकै बदनाम भएको ठहर गरेको छ । “खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्न्तिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकता भन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,” विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलले मन्त्रीहरुको चाकरीका लागि खेलकुद परिषद्का सदस्य सचिव सिलवालले साग खेलकुदको रकमबाट दौरा सुरुवाल उपलब्ध गराएको दाबीसमेत गरेको छ । “५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्न सफल नेपाली होनाहार खेलाडीहरुलाई शुटिङ, साईक्लिङ, स्वीमिङलगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्