काठमाडौं , मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।
‘नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्’, राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले उधौलीजस्ता चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गुरेकी छन् । ‘प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, सन्देशमा भनिएको छ ।
यसैगरी नेकपाका अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गरेका छन् ।
‘नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन्’, प्रचण्डले सन्देशमा भनेका छन्, ‘सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’
विभिन्न समुदायका सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।
मार्ग शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले उधौली तथा ज्यापू समुदायले योमरी पुन्हिः मनाउँदैछन् । यस अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।