काठमाडौं । आज पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ६५ औं जन्मदिन हो । समकालीन राजनीतिक नेताहरुमध्ये शिखर पुरुष मानिने प्रचण्डको ६५ वर्षे जीवनी सङ्घर्षको गाथाले भरिएको छ ।
वि.सं. २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएयता प्रचण्ड निरन्तर राजनीतिको मोर्चामा छन् । चौम, मशाल, एकता केन्द्र, माओवादी हुँदै नेकपासम्म प्रचण्डले राजनीतिक नेतृत्व गरिरहेका छन् । दर्शन एवं विचारधाराको निर्माण, कम्युनिष्टहरुबीच एकता, विश्व हल्याउने जनयुद्ध र त्यसको नेतृत्व, शान्ति प्रक्रिया र राजनीतिक सहमतिको यात्रा, गणतन्त्रको स्थापना, सङ्घीयता, समावेशी राज्य चरित्रको निर्माण, जनताकै प्रतिनिधिद्वारा संविधान निर्माण, वाम एकता र राजनीतिक स्थिरताको प्रारम्भ, समाजवादको संकल्प लगायतका दृष्टिले नेपाली राजनीतिमा प्रचण्डको योगदान अद्वितीय रहेको छ ।
प्रचण्ड जस्तोसुकै बिमतिमा पनि सहमतिको सम्भावना देख्छन् । जब देशमा समस्या पर्छ, समाधानको सुत्र खोज्न उनी अग्रसर हुन्छन् । समकालीन नेताहरुमा उनलाई शालिन, रणनीतिक, लचक, गतिशील र सहकार्यको राजनीति गर्ने नेताका रुपमा चिनिन्छ । हाल नेकपाका अध्यक्ष रहेका प्रचण्डको ६५ वर्षे संक्षिप्त जीवनी हामीले यहाँ प्रस्तुत गरेका छौं ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको जन्म वि.सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए । २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस्सी. पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी. गर्नु भई एम.पी.ए. सम्मको अध्ययन गरेका छन् । कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उनी आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् ।
वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइसराई गरेका प्रचण्डको वि.सं. २०२६ बैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाशको निधन भइसकेको छ । उनी नारायणी विद्या मन्दिर मा.वि. शिवनगर–२०२९ साल, डण्डा मा.वि. नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहेका थिए ।
वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । प्रचण्ड वि.सं. २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।
वि.सं. २०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्षमा निर्वाचित भए । सोही सम्मेलनले विचारधारात्मक उपलब्धिका रुपमा प्रचण्डपथ संश्लेषण गर्यो ।
वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्ड २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । उनी २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।
अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्ड सिराहा–५ बाट निर्वाचित भएका थिए ।
संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३।०४।१९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए । २०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट अध्यक्ष प्रचण्डले ४८२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
वि.सं. २०७४ जेठमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको घोषणा भयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने संकल्प बोकेका प्रचण्ड अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।