बढ्दैछ अनलाइनमार्फत ठगीको घटना, होसियार !!!



प्रविधिको विस्तारसँगै त्यसको दुरुपयोगका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । हरेक प्रविधिको आविष्कार सँगसँगै त्यसको गलत प्रयोगले चुनौती थपेको छ । ह्याकिङ एवम् ठगीका घटनाहरु विश्वव्यापी रुपमा नै बढ्दै गइरहेका छन् । नेपालमा पनि एकपछि अर्को गर्दै यस्ता घटनाहरु बाहिरिइरहेका छन् ।

बुधबार मात्रै अनलाइनमार्फत करोडौँ रुपैयाँ ठगी गर्ने एक गिरोहलाई प्रहरीले सार्वजनिक गर्यो । उक्त गिरोहले आम नागरिकलाई चिठ्ठा परेको, लाखौंको पार्सल आएको भन्दै प्रलोभनमा पारी ठगी गर्ने गरेको खुलासा भएको छ । गिरोहले पार्सल तथा चिट्ठा विभिन्न स्थानमा अड्केको र त्यसलाई छुटाउन केहि रकम आवश्यक पर्ने भन्दै पैसा उठाएर ठगी गर्ने गरेको खुलेको हो । सामान्य उजुरीको आधारमा अनुसन्धान गर्दा अनलाइन ठगीको ठूलो संजालसम्म पुगेको प्रहरीले जनाएको छ ।

विदेशीको संलग्नता
यस्तो ठगी कार्यमा विदेशीहरुको हात हुने गरेको छ । नेपालमा प्रविधिको प्रयोग विस्तारै बढ्दै गएको छ तर प्रविधिको दुरुपयोगबाट बच्ने उपाउ अपनाउन सक्षम हुन सकिएको छैन । अर्धज्ञानकै आधारमा मानिसहरु प्रविधिको प्रयोग गरिरहेका छन् । यसैको फाइदा ह्याकरहरुले उठाइरहेका छन् । बुधबार सार्वजनिक गिरोहका नाइके पनि विदेशी भएको खुलेको छ । नाइजेरीयन नागरीक पिटर मुख्य योजनाकार भएको अनुसन्धानबाट पत्ता लागेको छ । पिटर आफ्नो एजेन्ट मार्फत नेपालमा अनलाइन ठगी तथा बैंक ह्याक गर्नेसम्मको कार्यमा संलग्न रहेको देखिएको छ ।

अनलाइनमार्फत गरिने ठगी पत्ता लगाउन गाह्रो हुन्छ, किनकि उनीहरुले एक ठाउँमा बसेको अर्को ठाउँमा अपराध गर्छन् । यसरी ठगी गर्नेहरु प्रविधिमा निपुण हुन्छन् । प्रविधिका प्रयोगकर्ताहरुको सानो कमजोरीको फाइदा उठाएर करोडौँ लुट्ने गर्छन् । त्यसैले, अनलाइनबाट कुनै पनि काम गर्दा होसियारी अपनाउनुपर्छ । अहिले अनलाइनबाटै पैसाको हरेक कारोबार गर्न सकिन्छ । यसले मानव जीवन निकै सहज बनाएको छ । तर, होसियारीका साथ प्रयोग गर्न सकिएन भने ठगीको सिकार बन्न सकिन्छ ।

                                                                                                                                                             Source : Banking news

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्