मुख्य समाचार

पुनःनिर्माणका लागि सहज रुपमा काठ उपलब्ध गराउन प्राधिकरणको निर्देशन

By थाहा अनलाइन

October 31, 2017

सैघाली खबर काठमाडौं ,१४ कार्तिक

काठका कारण पुनःनिर्माणमा अवरोध आउन नदिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वन मन्त्रालय र अन्तर्गतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालय, वन विभाग र टिम्बर कर्पोरेशन अफ नेपालका अधिकारीसँग सोमबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणका लागि सहज रुपमा काठ बिक्री वितरणको व्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने आपूर्ति व्यवस्था समितिलाई सक्रिय बनाउन र भूकम्प प्रभावित जिल्लामा घुम्ती चिरानी मेसिन स्थापना गर्ने लगायतका काम तत्काल गर्न पनि उहाँले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठकै कारण पुनःनिर्माण प्रभावित हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।