प्रधानसेनापतिकप महिला फुटबल प्रतियोगिता आयोजना हुने



नेपाली सेनाको आयोजनामा प्रधानसेनापतिकप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सातौं संस्करण यसै महिनाको अन्त्यमा सुरु हुने भएको छ ।

नेपालका ६ सहित कुल आठ टिमको सहभागिता रहने प्रतियोगिता यही मंसिर २९ मा सुरु भएर पुस ९ गतेसम्म चल्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ तथा प्रदेशका तीन टोली प्रदेश नम्बर १, २ र ५ को सहभागिता रहनेछ । यसैगरी भुटान र सिक्किमको टोलीको पनि सहभागिता रहने नेपाली सेनाका महासेनानी शसिकिरण रायामाझीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताको समूह ए मा एपिएफ, प्रदेश १, सिक्किम र आर्मी छन् भने समुह बी मा पुलिस, भुटान, प्रदेश २ र प्रदेश ५ छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर,फरवार्ड तथा प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्