रसुवागढी नाकाबाट ४४ किशोरी फर्काइयो




रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइ दिएको छ । २० वर्ष पूरा नभएका ४४ किशोरीलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको हो । यो २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्मको तथ्याङ्क हो ।

गत वर्ष १ सय १० जना किशोरीलाई फिर्ता गरिएको थियो । गत वर्षदेखि २० वर्ष पूरा नभएकालाई केरुङ जान अनुमति दिन छाडिएको जनचेतनाको कार्यक्रम सञ्चालन पश्चात यो वर्ष कम किशोरीलाई मात्र फिर्ता गरिएको माइती नेपाल रसुवाकी संयोजक लालुमाया घलेले बताइन् ।

संस्थाले ११ महिनामा १ हजार ९ सय ९३ लाई परामर्श दिएको छ । रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आएसँगै रोजगारीका लागि केरुङ जाने क्रम बढ्दै गएको छ ।

माइती नेपालले बुधबार धुन्चेमा आयोजा गरेको पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराइएको हो । रसुवाका नागरिकले एक वर्षको लागि चीन प्रवेश अनुमति पत्र पाउने र त्यहाँ रोजगारीको क्षेत्र पनि बढ्दै गएका कारण कामको सिलसिलामा त्यहाँ जाने क्रम बढेको हो ।

केरुङमा रसुवा तथा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोकका किशोरी कार्यरत छन् । जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाँउ लगायतका क्षेत्रका किशोरी केरूङको होटलमा कार्यरत छन् । जिल्लावासीलाई चिन प्रवेशका लागि सहज वातावरण भएकाले पनि जाने क्रम बढ्दोे छ ।

मानव वेचविखनको न्युनीकरणको लागि माइती नेपालले रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरेर परामर्श दिँदै आएको छ । ‘नाका सञ्चालनमा आएपछि केरुङमा काम गर्न जानेको सङ्ख्या बढ्दै गएको छ, संयोजक घलेले भनिन्, यसका लागि हामीले परामर्श दिँदै आएका छौं ।’

केरूङ जानका लागि खर्च कम लाग्ने र पासर्पोट वनाउने झन्झट बेर्होन नपर्दा उनिहरू खाडीका देशहरु र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका हुन्् । केरूङमा सञ्चालित होटलमा काम गर्नका लागि रसुवा लगायत छिमेकी जिल्लाबाट समेत जाने गरेका छन् ।

केरुङमा करिब पाँच सय जना किशोरी कार्यरत रहेका छन् । होटलमा काम गर्ने युवतीहरूले त्यहा १५ हजारदेखि २५ हजारसम्म मासिक पारिश्रमिक पाउने गरेका केरूङमा कार्यरत शान्ति तामाङले बताइन् । तामाङका अनुसार नेपाली तथा चिनियाँ होटलमा न्युनतम तीन जनादेखि सात जनासम्म नेपाली किशोरीले काम गरिरहेका छन् ।

रसुवागढी अध्यागमन कार्यालयले हालसम्म १० हजार ९ सय ४९ वटा पास जारी गरिसकेको छ । पास लिने अधिकांस केरुङमा कार्यरत छन् । केरुङमा रहेको होटल, डान्सबार, निर्माण क्षेत्रमा काम गर्ने बढी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्