काठमाडौं, मंसिर २७ । मुग्लिन सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । यस अवधिमा यो सडकमा गाडी चलाउन नपाइने भएको छ । सडकमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले आजदेखि दुई हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
विश्व बैँकको १२ करोड रुपैयाँको लगानीमा यो सडक खण्डको गाईघाट, अठार किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चार किलो, टोपे खोला र काली खोलामा पहिरो रोकथामका लागि काम गरिने उनले बताए ।
कामको अवधिभर नारायणगढबाट मुग्लिनतर्फ छुटेका गाडी पन्ध्र किलो र दासढुङ्गा तथा नारायणगढतर्फ छुटेका गाडी मुग्लिनमा रोकिने खनालले जानकारी दिए ।
यो सडक खण्डमा यसअघि नै पहिरो रोकथामको काम गर्ने भनिए पनि भरतपुर विमानस्थल मर्मतको काम भइरहेकाले आजबाट मात्रै थाल्न लागिएको आयोजनाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।