बैदेशिक रोजगार

शून्य लागतमा नेपाली श्रमिक लैजान मलेसिया सरकार सकारात्मक

By Thah Online

December 13, 2019

काठमाडौं, मंसिर २७ । शून्य लागतमा नेपाली श्रमिक लैजान मलेसिया सरकार सकारात्मक देखिएको छ । नेपाली श्रमिकहरुको प्रमूख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसियाले स्वच्छ भर्ना प्रक्रियामार्फत् नेपाली श्रमिकहरु लैजान चाहेको जनाएको छ।

मलेसियाली मानव संसाधन मन्त्रालयले सुरक्षा गार्डलगायत काममा स्वच्छ भर्ना प्रक्रियामार्फत् नेपाली श्रमिकहरु भित्र्याउन चाहेको मलेसियाली सञ्चार माध्यम द स्टार अनलाइनले उल्लेख गरेको छ।

मलेसियाली मानव संशाधन मन्त्री एम. कुलासेगरनले नेपाल र मलेसियाबीच भएको श्रम समझादारीअनुसार नै नेपाली श्रमिक भर्ना प्रक्रिया अगाडि बढाउन जोड दिएका छन्। स्वास्थ्य जाँच, हवाई टिकट, भिसा शुल्क, सुरक्षा जाँचलगायत सम्पूर्ण शुल्क समझदारी अनुरुप हुनुपर्ने उनको भनाइ छ।

यता नेपाली श्रमिक स्वच्छ भर्ना प्रक्रियाका लागि मलेसियाली सरकार सकारात्मक देखिए पनि रोजगारदाताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। रोजगार एजेन्सी सघं मलेसियाका अध्यक्ष डाटुक योङ हूईले सरकारले अन्य धेरै स्रोत मुलुकहरुमार्फत कामदार लैजाने सहज वातावरण बनाउन आवश्यक रहेको बताएका छन्। कामदार लैजाने वातावरण सहज नभएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।