पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।महाशाखाका अनुसार शनिबार दिनभरी देशका देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली रहनेछ।
देशका मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।
यसैगरी आज राशि देशभरी नै आंशिकदेखि सामान्य बदली हुनेछ भने उच्च पहाडीसहित हिमाली भू–भागहरुमा कतै हल्का र कतै मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ । पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।
बुधबार बेलुका नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।