काठमाडौँ , मंसिर २८ ।शहीद स्मारक ‘ए डिभिजन’ लिग फुटबल प्रतियोगिताको नयाँ सिजन शनिबारदेखि सुरु हुँदैछ। पहिलो दिन शनिबार उद्घाटन खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइजबिच प्रतिस्पर्धा हुनेछ ।
मच्छिन्द्रले यसपटक आफ्नो क्लबमा राम्रा खेलाडी अनुबन्धित गरेर निकै बलियो टोली बनाएको छ। क्लबमा हाल राष्ट्रिय टोलीमा रहेका अभिशेक रिजाल, सुजल श्रेष्ठ, रवि पासवान, अजित भण्डारीलगायत खेलाडी छन् । पूर्व राष्ट्रिय कप्तान विराज महर्जन पनि टोलीमा छन् ।
दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानमा सञ्चालन हुने प्रतियोगितामा १४ ए डिभिजन क्लबको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी हुने ए डिभिजन क्लबहरुमा थ्रीस्टार, मनाङ मस्र्याङ्दी, संकटा, हिमालयन शेर्पा क्लब, मच्छिन्द्र क्लब, च्यासल युथ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाइज, न्युरोड टिम–एनआरटी, सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।
यसअघि पाँच वर्षपछि, गत वर्ष शहीद स्मारक ए डिभिजन लिग भएको थियो तर त्यसमा रेलिगेसन सिस्टम लागु गरिएको थिएन । मनाङ मस्र्याङ्दीले उपाधि जितेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्ने यो प्रतियोगिता राउन्ड रोबिन लिग आधारमा हुनेछ। एक टोलीले १३ खेल खेल्ने छ। राउन्ड रोबिन लिगको समाप्तीमा सबैभन्दा पुछारमा रहने टोली बी डिभिजनमा घटुवा हुनेछ।
प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउनेछ। उपविजेताले ३५ लाख, तेस्रो हुने टोलीले २५ लाख, चौथो हुने टोलीले १५ लाख, पाँचौँ हुने टोलीले ७ लाख र छैटौँ हुने टोलीले पाँच लाख रुपैयाँ पाउने छन् ।
हरेक खेल जितेबापत ५० हजार रुपैयाँ र प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ। प्रतियोगिताको तयारीका लागि एन्फाले हरेक क्लबलाई प्रति क्लब २० लाख रुपैयाँ दिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक कतार एयरवेज रहेको छ। कतार एयरवेजले एक सिजनका लागि एक लाख ५० हजार अमेरिकी डलर दिने छ।
प्रतियोगिता सन्चालन खर्च ६ करोड ३० लाख रुपैयाँ रहेको एन्फाले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।