समयमै कानुन नबन्दा पानीजहाज चलाउन ढिलाइ



काठमाडौँ , मंसिर २८ । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ ।

सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने पाँच दशक पुरानो धोको पूरा गर्ने आशा राखिए पनि आवश्यक कानुन बन्ने क्रममा रहेकाले केही ढिलो भएको छ । कार्यालय उद्घाटन भएको एक वर्षको अवधिमा कार्यालयमा आवश्यक कर्मचारी र जनशक्तिको व्यवस्थापनले पूर्णता पाएको छैन ।

कार्यालयले यस अवधिमा नयाँ पानीजहाज सञ्चालन ऐन तथा नियमावलीको मस्यौदा निर्माणको काम भने अगाडि बढाइसकेको छ । २०७५ साल माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ गते नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए।

नेपाल पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले आवश्यक ऐन कानुनको अभावमा पानीजहाज सञ्चालनसम्बन्धी काम अगाडि बढ्न नसकेको बताए । उनले भने, ‘अहिले भएका ऐन पुराना छन्, त्यस ऐन कानुनबाट काम हुने नभएर अहिले नयाँ ऐनको मस्यौदाको तयारी अन्तिम चरणमा छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिला वज्राचार्यको संयोजकत्वमा गठित समितिले सो मस्यौदालाई अन्तिम रूप दिने कार्य गरिरहेको जनाइएको छ ।  उनले भने, ‘मस्यौदाको अन्तिम रूप दिएपछि मन्त्रालयमा बुझाउँछौँँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन लगायतका मन्त्रालयहरूसँग आवश्यक परामर्श गरी अन्तिम स्वीकृतिका लागि संसद्मा पेस गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्