कानून जान्दिन भन्न पाइदैन : सभामुख घर्ती



प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले सभ्य समाज निर्माणका लागि कानूनको अनिवार्य पालना गर्नु सबैको दायित्व हो भन्नुभएको छ ।

कालिका मानव ज्ञान माध्यमिक विद्यालयले आज बुटवलमा आयोजना गरेको कानूनी शिक्षा महोत्सवको उद्घाटन समारोहमा उहाँले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले कानूनको पालना गर्नुपर्नेमा जोड दिनुभयो । “कानून जान्दिन भनेर उम्कन पाइदैन, यसबारे सबै जानकार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सभामुख घर्तीले विद्यालयमा अध्यापन हुने सबै विषय महत्वपूर्ण हुने बताउँदै अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले कानूनको विषयमा सबै जानकार रहनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानूनको पालनाले देशलाई सभ्य र सुसंस्कृत बनाउने धारणा राख्नुभयो । अर्का प्रदेशसभा सदस्य कमला विश्वकर्माले निर्माण गरिएका कानूनहरुको अक्षरस पालनाका लागि नागरिकहरुमा सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीवक्ता नवराज थपलियाले पद र प्रतिष्ठाका लागि कानून व्यवसायीहरू बीचमै मतभेद हुन नहुने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले कानून विषय अध्यनका लागि अहिले रुपन्देही बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

कानून विषयको महत्व, आवश्यकता र भविष्यबारे गहन छलफल र जानकारी गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिनुभयो ।

महोत्सवमा कानून व्यवसायी, अदालतका न्यायाधीवक्ता, अधिवक्ता, कानून व्यवसायी र कानून विषय अध्यापन गराइरहेका प्रध्यापक तथा देशका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा कानून विषयमा अध्ययन गरिरहेका २०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्