माओवादी नेता बालकृष्ण ढुंगेल ८ वर्षपछि पक्राउ



सैघाली खबर
काठमाण्डौ १४ कार्तिक। सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । २०६६ साल पुष १९ गते जिल्ला अदालतले गरेको फैसला सदर गर्दै सर्वोच्च अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चको फैसला लगत्तै प्रहरी प्रशासनको आँखा छल्दै आएका ढुंगेललाई अन्ततस् प्रहरीले आज बिहान ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । पक्राउ गरे लगत्तै जिल्ला अदालतल काठमाडौंले उनलाई बाँकी सजाय भुक्तानीका लागि काठमाडौंको डिल्लीबजारस्थित कारागार चलान गरेको छ । डिल्लीबजार कारागारमा ढुंगेलले १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान गर्ने छन् ।

 

उनले थप ७ वर्ष कैद सजाय भने जिल्ला कारागार ओखलढुंगामा भुक्तान गरिसकेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको पुष्टि गर्दै सर्वोच्चले २०६६ सालमा जन्मकैदको फैसला सुनाएको थियो । २०६१ सालमा वैशाख २१ गते ओखलढुंगा जिल्ला अदालतले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय सुनाएपनि २०६३ सालमा पुनरावेदन अदालतले निर्दोष ठहर गर्दै जिल्ला अदालतको फैसला उल्टाई दिएको थियो । सो लगत्तै फरार भएका उनी सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँदा समेत पक्राउ पर्न सकेका थिएनन् । सर्वोच्चले गत चैतमा ७ दिनभित्र पक्राउ गरी त्यसको विवरण अदालतमा पठाउन नेपाल प्रहरी र प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेपछि ढुंगेल काण्ड पुनस् चर्चामा आएको थियो । सर्वोच्चको पत्र प्राप्त भए लगत्तै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुक भरका प्रहरी परिचालन गर्नुभएको थियो । ६ महिना बितिसक्दा समेत फैसला कार्यान्वयन नभएको भन्दै अर्याल विरुद्ध सर्वोच्चमा अवेहलना मुद्दा दायर भएको एक सातापछि ढुंगेल आज ललितपुरबाट पक्राउ परेका हुन् ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्