गैरकानुनी क्रियाकलाप निराकरण गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने : महानिरीक्षक खनाल




प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनहरुको आइतबार आयोजित एक कार्यक्रमबीच उद्धघाटन गरे । उनले शीलालेखको अनावरण गर्नुको साथै उक्त भवनहरुको निरीक्षण समेत गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी कर्मचारीमध्येका जेष्ठ नागरिक सदस्य पूर्व प्रहरी जवान ८१ वर्षीय डिकबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै भवन निर्माण कम्पनीका प्रोप्राइटरहरुलाई कदरपत्र समेत प्रदान गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले हालको परिस्थितिलाई मध्यनजर राखी गैरकानुनी क्रियाकलापलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारीहरु थप क्रियाशील हुनुपर्ने बताए । महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, लैङगिक हिंसा, जबरजस्ती करणी विरुद्ध केन्द्रीत रही पीडितलाई न्याय दिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।

संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले थप साधन स्रोत व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको बताए । नयाँ भवनसँगै थप उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिए ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई अक्षरस पालना गरी नागरिक केन्द्रीत सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले मगरले प्रहरी कर्मचारीहरु कुनै राजनीतिक दबाबमा नपरी थप व्यवसायिक हुनुपर्ने बताए । भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले समग्र जिल्लाको सुरक्षास्थितबारे जानकारी गराउँदै सुरक्षा निकायले भोग्नु परेका चुनौतिहरुका सम्बन्धमा प्रकाश पारे । साथै जिल्ला समन्वय समितिको कार्यालय भोजपुरकी उपप्रमुख अनिशा खड्काले प्रहरीले सुन्दर भवन जस्तै राम्रो सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेट कूल ९ करोड १५ लाख ६० हजार २ सय ४२ रुपैयाँ १५ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल, जिल्ला अदालत भोजपुरका जिल्ला न्यायाधिस खिलराज रेग्मी, नगरपालिका तथा गाउँपालिका प्रमुखहरु र उपप्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जिल्लास्थित ३ वटै सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पूर्व प्रहरी संगठन भोजपुरका पदाधिकारीहरु, संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

उद्घा टन कार्यक्रम पश्चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय भोजपुर तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्