नागरिकता विधेयकका कारण दिल्लीमा पनि सल्कियो आगो, हिंसात्मक विरोध प्रदर्शन



नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त भएका छन् । उनीहरले आइतबार तीनवटा बस, कार र केही मोटरसाइकलहरू जलाएका छन् ।

भारतका विभिन्न क्षेत्रमा नागरिकता संशोधन विधेयकका विरुद्धमा भइरहेको आन्दोलन अब संघीय राजधानी नयाँ दिल्लीमा पनि आइपुगेको छ । आइतबार साँझ केन्द्रीय विश्वविद्यालय जामिया मिल्लिया इस्लामिया रहेको क्षेत्र सराय जुलेना र मधुरा रोडमा भएको विरोध प्रदर्शनमा कैयौं बसमा आगजनी भएको छ ।

बसमा लागेको आगो निभाउन गएको फायर ब्रिगेड र प्रहरीको गाडी पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।समाचार एजेन्सी एएनआइका अनुसार जामिया मिलिया इस्लामियाका छात्र सहित स्थानीयले सराय जुलेनामा नागरिकता संशोधन कानुनको विरुद्धमा प्रदर्शन गरेका हुन् । पीटीआइसँगको कुराकानीमा जामिया युनिभर्सिटीका एक अधिकारीले हिंसा सोही क्षेत्रका स्थानीय बासिन्दाले उत्पन्न गराएको जनाए ।
त्यसमा युनिभर्सिटीका विद्यार्थीको हात नरहेको उनको दाबी थियो । सो घटनापछि प्रहरीले जामिया क्षेत्रमा घेराबन्दी गरेको छ ।

युनिभर्सिटीका चिफ वसीम अहमद खानले ट्विट गर्दै दिल्ली प्रहरीले बिनाअनुमति युनिभर्सिटी परिसरमा प्रवेश गरेको जनाएका छन् । भित्र छिरेर कर्मचारी तथा छात्रलाई पिटेकोसमेत उनले जनाएका छन् । दिल्ली प्रहरीका अनुसार भीड निकै उग्र भएको र प्रहरीले नियन्त्रण लिन खोज्दा ढुंगा प्रहार गरिएको थियो । चार बस र प्रहरीको वाहनमा आगजनी गरिएको जनाउँदै प्रहरीले त्यही कारणले अश्रुग्याँस र गोली चलाउनुपरेको जनाएको छ ।

गम्भीर रुपमा घाइते भएका प्रहरीलाई आईसीयूमा भर्ना गरिएको जनाइएको छ । घटनामा घाइते भएका १० जना विद्यार्थीलाई स्थानीय फेमिली अस्पतालमा भर्ना गरिएको छ । २५ भन्दा बढीलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । केहीलाई गएराति नै रिहा गरिएको बताइएको छ ।

 विद्यालय बन्द

दिल्ली मेट्रो रेल कर्पोरेसनले ट्विट गर्दै सुरक्षाका कारण वसन्त विहार, मुनिर र आरके पुरम मेट्रो स्टेशनमा अहिलेलाई सेवा बन्द गरिएको जनाएको छ । यस्तै पटेल चोक, विश्वविद्यालय, जीटीबी नगर, शिवाजी स्टेडियम मेट्रो स्टेशन पनि बन्द गरिएको छ । विद्यार्थीहरुको पक्षमा विभिन्न राजनीतिक दल, कलेजका विद्यार्थी लगायतले ऐक्यवद्धता जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्