प्रधानसेनापति आमन्त्रित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सोमबार २ खेल हुँदैछन् ।
ललितपुरको लगनखेलमा सशस्त्र प्रहरीको एपीएफ र सिक्किम युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो २ बजे सुरु हुनेछ । राष्ट्रिय खेलाडीहरुको साथ रहेको बलियो टोली एपीएफ पाहुना टोलीलाई हारको स्वाद चखाउने योजनामा छ ।
सोमबारै हुने अर्को खेलमा विभागीय नेपाल पुलिस क्लव र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । खेल, भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा दिउँसो २ बजे सुरु हुनेछ । तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशको फुटबल टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।