गुल्मी । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरुको सहजताका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । कार्यालयले बच्चा साथमा लिएर आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।
प्रशासन कार्यालयमा सहायता कक्ष र महिलाहरुको लागि बालबच्चा खेल्ने स्थान सहितको स्तनपान कक्ष सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाले जानकारी दिए । सहायता कक्षबाट कार्यालयको सेवा प्रवाहका बारेमा जानकारी दिनुका साथै विभिन्न प्रकारका निवेदनहरु निःशुल्क उपलब्ध हुँदै आएको छ । स्तनपान कक्षमा महिलाहरुको लागि विश्राम स्थल, स्तनपान कक्ष, बच्चाहरुलाई खेल्ने स्थान समेतको व्यवस्था गरिएको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । सेवाग्राहीहरुको लागि अत्याधुनिक प्रविधि युक्त फिल्टर गरिएको शुद्ध पिउने पानीको समेत यवस्था गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।