मुख्य समाचार

निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई आयोगको निर्देशन

By थाहा अनलाइन

November 01, 2017

सैघाली खबर काठमाडौं,१५ कार्तिक

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न गर्न भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । हिजो सुरक्षासँग सम्बन्धित व्यक्तिहरुसँग चुनाबी सुरक्षाका बिषयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरोकारवाला पक्षलाई निर्देशन दिनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । बैठकमा दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेशसभातर्फ २ सय ५६ सदस्यको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रममा पनि भरपर्दो सुरक्षा व्यवस्था मिलाउने बारे छलफल भएको ढकालले बताउनुभयो ।

यसैबीच, निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्याइएको रकम रोक्का भएको जनाएको छ । आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरण अनुसार, रौतहट, कास्की, रूपन्देही, रुकुम पश्चिम भाग, कालिकोट, अछाम र बैतडी गरी सात जिल्लामा जम्मा ९५ करोड रुपियाँको योजना पारित भई निकासा दिने अवस्थामा पुगेको रकम समेत निकासा दिन रोक्का भएको छ । बाँकी ७० जिल्लामा योजना छनौट हुन बाँकी भन्ने जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।