मुख्यमन्त्रीका दावेदार कृष्णध्वज खड्का



शशिधर भण्डारी,
प्यूठान, १५ काार्तिक ।
नेपाली जनताको समृद्धिको चाहना पूरा गर्ने र राजनीतिक स्थायित्व निर्माण गर्ने अभिप्रायका साथमा निर्माण भएको बामगठबन्धनका तर्फबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफ्नो उमेद्वारहरु तय गर्ने काम अन्तिम चरणमा पुगेको छ । ने.क.पा. एमाले र माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनमा साना कम्युनिष्ट घटकहरुलाई धुविकृत गर्ने क्रमपनि जारी छ ।
यसै सन्दर्भमा कम्युनिष्टहरुको आधारभूमि वा किल्लाको रुपमा चिनिने प्यूठान जिल्लामा पनि एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा वीच तालमेल भइ बाम उमेद्वारहरुको अन्तिम टुंगो लागेको छ । जस अनुसार प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, ५ नम्बर प्रदेशसभाका लागि प्यूठान क्षेत्र नम्बर १ बाट एमालेका हरी रिजाल र क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का चुनावी मैदानमा उभिएका छन् ।
बहस नेतृत्वको
बाम गठबन्धनको सांगठनिक अवस्था, विगत निर्वाचनमा यी पार्टीहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो निर्वाचनमा बाम उमेद्वारहरु भारी मतका साथ विजय हुने सुनिश्चित देखिन्छ । स्थानीय तह निर्वाचनको आँकडा अनुसार तिन बाम पार्टीले प्राप्त गरेको मत ६१ हजार ५ सय ५९ र नेपाली काँग्रेसले प्राप्त गरेको मत १९ हजार सात सय ९१ देखिन्छ । यस आधारमा बहस चुनाव जित्ने हार्ने कुरामा भन्दा पनि चुनाव पछि निर्वाचित जनप्रतिनिधिहरुले प्यूठान जिल्लाको विकासका लागि आफुलाई खरो उतार्न सक्छन् कि सक्दैनन् भन्ने वा समृद्ध प्यूठान निर्माणको कुशल नेतृत्व गर्ने खुवी राख्दछन् कि राख्दैनन् भन्ने कुरामा केन्द्रित भएको देखिन्छ ।
मुख्यमन्त्रीमा प्यूठानको दावी
ने.क.पा. माओवादी केन्द्रका प्राय प्रभावशाली नेताहरु प्रतिनिधिसभा सदस्यका लागि उमेद्वार बनेका छन् । प्यूठान क्षेत्र नम्बर २ का उमेद्वार कृष्णध्वज खड्का पनि माओवादी केन्द्रका ‘हेवी वेट’ नेता भित्र पर्दछन् । माओवादी केन्द्रका कमैमात्र हेवी वेट नेताहरु प्रदेशसभा निर्वाचनमा होमिएका छन् । एमाले वा माओवादी केन्द्र बाट प्रदेशसभामा उमेद्वार बनेका प्रभावशाली नेताहरु प्रदेशको मुख्यमन्त्री वा प्रभावशाली मन्त्री बन्नेछन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । त्यसैले माओवादी केन्द्रका तर्फवाट अघि सरेका बाम उमेद्वार कृष्णध्वज खड्का प्रदेशसभा निर्वाचनको मैदानमा आएसंगै ५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा प्यूठान जिल्लाले दरिलो दावेदारी प्रस्तुत गरेको छ ।
कृष्णध्वज खड्का नै मुख्यमन्त्रीको दावेदार किन ?
कम्युनिष्ट आन्दोलनको लामो पृष्ठभूमि भएका, कम्युनिष्ट क्रान्तिमा निरन्तर योगदान र निष्ठा बोकेका कृष्णध्वज खड्का माओवादी बृत्तमा योगदानका हिसावले सिनियर मानिन्छन् । २०५२ ताका खड्का अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुँदा हाल ने.क.पा.का महासचिव रहेका नेत्र विक्रम चन्द(विप्लव) उनको उपाध्यक्ष रहेका थिए ।

जनयुद्ध प्रारम्भ पश्चात अध्यक्ष प्रचण्डको प्रतिनिधिको रुपमा खटिइ तत्कालिन राजदरवार, संसदीय राजनीतिक दलहरु, कुटनितिक नियोग, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था संग वार्ता÷संवाद गर्ने उच्च जिम्मेवारी र भूमिका कृष्णध्वज खड्काले कुशलतापूर्वक निभाएका थिए । २०५८ सालमा भएको पहिलो चरणको सरकार र माओवादी वीच भएको वार्ताको ब्यबस्थापन गर्ने जिम्मा खड्काकै थियो । उक्त वार्ता असफल भएपछि तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले संकटकाल घोषणा गरी माओवादी माथी तिव्र दमन र धरपकडको श्रृङखला सञ्चालन ग¥यो । यसैक्रममा कृष्णध्वज खड्का र उनका जीवनसंगिनी रेखा शर्मालाई तत्कालिन शाहीसेनाले गिरफ्तार गरी एक बर्ष वेपत्ता बनायो । वेपत्ता अवस्थामा राखी खड्का दम्पत्तीलाई निर्मम यातना दिइयो । कठोर यातनाका कारण खड्काको दुवै खुट्टा र हात भाँचियो ।

ढाडमा गम्भिर चोट लाग्यो । अहिले उनको हात खुट्टा फलामे रडको भरमा अडिएका छन् । निर्मम पिटाइका कारण खड्का र शर्मा दिर्घरोगी बनेकाछन् । अतः कृष्णध्वज खड्का एकजना जिउँदा सहिद हुन् । कम्युनिष्ट क्रान्तिमा उनले बलिदानको कोटा चुक्ता गरेका छन् । कम्युनिष्ट आन्दोलनमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्नुको नाताले मात्र होइन हरेक जोडकोणमा मुख्यमन्त्रीको भूमिका निर्वाह गर्नसक्ने ल्याकट राख्न सक्ने हुनाले कृष्णध्वज खड्काले ५ प्रदेशको मुख्यमन्त्रीको रुपमा आफुलाई प्रस्तुत गर्नु न्यायोचित देखिन्छ ।
प्यूठानीले के आशा गर्ने ?
प्यूठान जिल्ला कम्युनिष्टका नेताहरु जन्माउने थलोका रुपमा चिनिन्छ । मोहन विक्रम सिंह, मोहन वैद्य, बामदेव गौतम, मणी थापा, लिलामणी पोख्रेल, कृष्णध्वज खड्का, सुर्य थापा लगायतका केन्द्रिय नेताहरु प्यूठानमा जन्मिएका हुन् । राष्ट्रिय राजनीतिमा यी पात्रहरुको महत्वपूर्ण भूमिका रहेको छ । प्यूठान जिल्लाले यति धेरै राष्ट्रिय भूमिका प्राप्त नेताहरु जन्मायो तर अपेक्षाकृत रुपमा जिल्लाको विकास हुन सकेन । सत्ताको पहुँचबाट सधै टाढा बस्नु पर्ने नियती प्यूठानीले भोग्नु पर्यो । कम्युनिष्ट राजनीतिको शिर्ष भूमिकामा रहे पनि प्यूठान जिल्लामा जन्मेका कम्युनिष्ट नेताहरु राज्यसत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुग्न सकेनन् । अथवा चाहेर पनि सरकार सञ्चालन गर्ने भूमिकामा बलशाली ढंगले उभ्याउन सकेनन् । २०७० सालको निर्वाचनमा बामदेव गौतमलाई निर्वाचित गरी आफ्नो विकासको भोक मेटाउने प्यूठानीको चाहना पनि अस्थिर राजनीतिका कारण पुरा हुन सकेन । यस पृष्ठभूमिमा सिंगो ५ नम्बर प्रदेशको नेतृत्व गरी राज्यमा प्रभावकारी पहुँच कायम गर्ने सुअवसर प्यूठान र प्यूठानीलाई प्राप्त भएको छ ।

त्यसको नेतृत्वको जिम्मेवारी र भूमिका ऐतिहासिक आवश्यकता, आकस्मिकता र क्षमताको उपयुक्त संयोजन सहित प्रभावशाली नेता कृष्णध्वज खड्कालाई प्राप्त हुन पुगेको छ । केन्द्रिय स्तरमा बामगठबन्धन निर्माण गर्दा प्रदेश २, ५ र ६ को मुख्यमन्त्री माओवादी केन्द्र र १, ३,४ र ७ प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमती भएको भनिएको सन्दर्भमा प्यूठान जिल्लालाई प्राप्त ५ नम्बर प्रदेशको नेतृत्व गर्ने अवसरलाई सदुपयोग गर्दै प्यूठानी जनताको बर्षौदेखिको समृद्धी सपना साकार पार्ने अवसरलाई वेलैमा हृदयङ्गम गर्न मनासीव देखिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्