तीन ब्याट्सम्यान शून्यमा आउट हुँदा कमजोर बन्यो पोखरा, विराटनगरको जित



पोखरा– पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले हराएको छ। पोखराका महत्वपूर्ण तीन ब्याट्सम्यान शून्यमै आउट हुँदा खेल गुमायो।
१ सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा १९.५ ओभरमा एक सय रन बनाउँदा अलआउट भयो।

पोखराका लागि ओपनिङमा आएका कुशल भुर्तेलले १३ बलमा २४ रन साथै आशिफ शेखले २२ बलमा १३ रन बनाए। रवि इन्दर सिंह, कुशल मल्ल र शरद भेषावकर शून्यमै आउट भए। रबिले ३, कुशलले ३ साथै शरदले ४ बल खेले।

रोहित पौडेलले ३८ बलमा ३२ रन बनाए। बिनोद भण्डारी ९ बलमा ४ रन हानेर आउट भए। प्रथमेस डाके ५ बल खेलेर ३ रन हान्दा आउट भए। रासिद खानले १० बलमा ८ रन बनाए।

विराटनगरका किशोर महतोले तीन, जितेन्द्र मुखिया र जायद आलमले दुई–दुई साथै साहब आलम, पुनित मेहरा र नोमन खानले एक–एक विकेट लिए।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पोखराले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङमा विराटनगरले पूरा ओभर खेल्दै ५ विकेट जाँदा १ सय ४५ रन बनाएको थियो।

ओपनिङमा आएका मोहम्मद जायद आलमले २७ बलमा २६ रन साथै सुनिल धमलाले ४० बलमा ३६ रन बनाएका थिए। कप्तान प्रदीप ऐरीले १२ बल खेलेर ६ रन मात्रै बनाए। नोमन खानले ४ बलमा १ रन बनाए।

कमजोर बनेको विराटनगरको ब्याटिङ पुनित मेहराले उकासेका थिए। २६ बल खेलेका उनले अविजित ६१ रन बनाए। जसमा उनले ५ चौका ४ छक्का हाने। लोकेश बम २ बलमा २ रन हान्दा शरद भेषावकरको बलमा एलबिडब्लू आउट भए। राजु रिजाल ९ बलमा ९ रन हान्दै अविजित रहेका थिए।

पोखराका कप्तान भेषावकरले दुई साथै सर्वजित लद्दा र कुशल मल्लले एक–एक विकेट लिए। यसअघि पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराएको पोखरा चितवनसँग ६ विकेटले हारेको थियो। विराटनगर यसअघि धनगढीसँग ५ रनले हारेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्