राप्ती नदी उत्खनन्मा रोक लगाउन भालुवाङबासीले सम्बन्धीत निकायमा ज्ञापनपत्र बुझाउने



ओमप्रकाश गुप्ता
सिसहनियाँ, राप्ती गाउँपालिका १ भालुवाङमा स्थानीयहरुको बुधवार बसेको एक भेलाले राप्ती नदी उत्खनन्का विरुद्धमा विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

राप्ती सामुदायिक वन उपभोक्ता समुहको कार्यालय भालुवाङमा बसेको स्थानीयहरुको भेलाले यस्तो निर्णय गरेको हो । राप्ती गाउँपालिका कार्यालय मसुरीयाले संवेदनशील चुरे क्षेत्रमा पर्ने राप्ती नदी ,रङसिङ नदी दोभान तथा अन्य बगरहरुमा जथाभावी टेण्डर खुलाई उत्खनन् गर्ने कार्य हुन थालेपछि भालुवाङका स्थानीय बासिन्दा स्वतस्फुर्त आन्दोलनमा उत्रिएका हुन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ को पुरानो भालुवाङ बजार स्थित हनुमानगढी मन्दिर देखि बर्राबास सम्म झण्डै २ किलोमिटरको दुरीमा राप्ती नदीको उत्तर तर्फको किनारा घना मानव बस्ती सित सटेको छ ।

उक्त ठाउँमा हनुमानगढी धार्मिक पर्यटकीय स्थल,सोही ठाउँमा रहेको राप्ती नदीको उत्तर किनारामा रहेको प्रगन्ना सिचाई नहरको एक नम्बर इन्टेक बराखुटी क्यानलको मुहान,दातृ निकायको आर्थिक अनुदान सहयोगमा हालै निमार्ण सम्पन्न भएको अत्याधुनिक इलाका प्रहरी कार्यालय भालुवाङको अढाई तले भवन,सिया र सुन्नी २ मुसनमान समुदायका आस्थाका मस्जिदहरु,नेपाल राष्ट्रिय मावि भालुवाङको भवन र खेलमैदान, दाङको भालुवाङ बर्राबास र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका लाहपे जोड्ने राप्ती नदीमा बनेको झोलुङगे पुल,स्थानीय बासिन्दाहरुको घनाबस्ती र उनीहरुको नीजि परियोजनका लागि नीजि लगानीमा निर्मित पक्की तथा ग्रावेल गाउँले सडक तथा घर जग्गा राप्ती नदीको उत्तर तर्फ रहेको र राप्ती नदीको दक्षिण तर्फ अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ८ को सापमरामा रहेको स्थानीय गाउँलेहरुको घनाबस्ती र सोही बस्तीको उत्तर तथा राप्ती नदीको दक्षिण तर्फ सटेको राष्ट्रकै गौरवको आयोजना बड्कापथ सिचाई नहरको निर्माणाधिन मुहानका बिच बाट गिट्टी,ढुंगा,बालुवा ग्रावेल निकाल्न गाउँपालिकाले टेण्डर निकालेपछि स्थानीयहरु आक्रोसित भएका हुन् ।

उक्त स्थानबाट सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति खुमलटार ललितपुरले समेत यस्तो संवेदनशीलतालाई ख्यालै नगरी हचुवाका भरमा गाउँपालिकाको कार्यालयले सम्बन्धित सिचाई नहर,धार्मिक समुदाय,सार्वजनिक संस्था,स्थानीय बासिन्दा कोहि कसै सँग सरोकार नराखी फाइल पेश भएको आधारमा अनुमती दिएको भनि आक्रोस व्यक्त गरेका छन् ।

भालुवाङको उक्त बगरबाट ठेकेदारहरुले जथाभावी उत्खनन्,संकलन र ओसारपसार गर्न थालेपछि स्थानीयहरु आन्दोलित हुँदै आएका छन् । उनीहरुले गत हप्ता ठेकेदारहरुका दर्जनौ टेक्टर रित्तै भगाई दिएका थिए । गएको शनिवार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त बगरमै ल्याई टेण्डर बमोजिम उक्त ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाउनु पर्छ भनि सुरक्षाफौज परिचालन गरी गाउँलेहरुको भावना विपरित गर्न खोज्दा अध्यक्ष सुवेदी र गाउँलेहरु बिच चर्को भनाभन समेत भएको थियो । यस्तो अवस्थामा प्रमुख जिल्ला अधिकारी रिजालले एक आपसमा द्धन्द गरेर समस्या समाधान नहुने भनि गाउँपालिका अध्यक्ष सुवेदीलाई संझाएका थिए ।

प्रमुख जिल्ला अधिकारी रिजालको संयमतालाई सर्वसाधारण गाउँलेहरुले राम्रो मानेका छन् भने आफुले नै गोप्य मतदानबाट विजय गराएका अध्यक्ष सुवेदीको व्यवहार प्रति खेद व्यक्त गरेका थिए । यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारी रिजाल सँग जिज्ञासा राख्दा स्थलगत अध्ययन गर्दा ढुंगा,गिट्टी,बालुवा उत्खनन् गर्न भालुवाङ बगर हरहालतमा उचित नदेखिएको आफुलाई लागेको तर चुरे संरक्षण कार्यालयले कसरी इजाजत दियो यस विषयमा आफु अनविज्ञ भएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्