काठमाडौं, पुस ३ ।महाअभियोग लागेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक टिप्पणी गरेका छन् । तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएको बेला ट्रम्प मिचिगनमा आयोजित एर्क यालीलाई सम्बोधन गरिरहेका थिए ।
सम्बोधनका क्रममा उनी एकाएक रोकिए र मतगणनाको नतिजा हेर्दै भने, ‘ओ, मलाई लाग्छ मतदान भइसकेको छ । त्यसो भए हामीलाई प्रत्येक रिपब्लिकनले भोट दिए । वाह ।’ ‘वाह, वाह । करिब २ सय । त्यसो भए हाम्रो १९८, २२९ भयो । हामीले एउटा रिपब्लिकन भोट गुमाएनौं र तीन डेमोक्रेट्सले हाम्रा लागि मतदान गरे ।’
‘रिपब्लिकन पार्टीले यसअघि कहिले पनि यस्तो अपमानित हुनुपरेको थिएन तर उनीहरु यत्तिको एकजुट कहिले पनि भएका थिएनन् ।
अब के होला ?
विपक्षीको बहुमत भएको तल्लो सदनमा यो प्रस्ताव पास भइसकेको छ । अब यसबारेमा माथिल्लो सदन सिनेटले जाँच प्रक्रिया अघि बढाउनेछ ।
तर, माथिल्लो सदनमा ट्रम्प समर्थित रिपब्लिकन पार्टीकै बहुमत छ । यदि राष्ट्रपतिविरुद्ध दुई तिहाईको बहुमतले अभियोग प्रमाणित भएमा अमेरिकी इतिहासमै महाअभियोगको प्रक्रियाबाट हट्ने पहिलो राष्ट्रपति ट्रम्प हुनेछन् । यद्यपि त्यस्तो हुन मुश्किल छ ।
ट्रम्प र उनका सहयोगी यो जाँच प्रक्रियामा पहिलादेखि नै प्रश्न उठाउँदै आइरहेका छन् । ह्वाइट हाउस र केही रिपब्लिकन नेताहरुले यो प्रक्रियालाई दुईसाता भित्र टुंगो लगाउन चाहेका छन् ।
ट्रम्प तेस्रो व्यक्ति
अमेरिकाको इतिहासमा दुई राष्ट्रपति १८८६ मा एन्ड्रयु जोन्सन र १९९८ मा बिल क्लिन्टनको विरुद्धमा महाअभियोग प्रस्ताव ल्याइएको थियो । जोन्सनको विरुद्धमा भ्रष्टाचारको लागि र क्लिन्टनको विरुद्धमा उनकी इन्टर्न मोनिका लेवेन्स्की यौनकाण्डमा दिएको बयानमा ढाँटेको भन्ने विषयमा महाअभियोग प्रस्ताव ल्याइएको हो ।
जोन्सन र क्लिन्टन दुवै डेमोक्र्याट्स पार्टीका हुन् । यद्यपि उनीहरुलाई पदबाट हटाउन भने ती प्रस्तावले सकेका थिएनन् ।
अहिले सो प्रस्ताव ट्रम्पको विरुद्ध पनि तल्लो सदनमा पास भएको छ र उनी यस्तो प्रस्ताव ल्याइने तेस्रो अमेरिकी राष्ट्रपति भएका छन् । अनि अभियोग लाग्ने रिपब्लिकन पार्टीका पहिलो राष्ट्रपति पनि भएका छन् । हट्नेमा परे भने पनि उनी पहिलो राष्ट्रपति हुनेछन् । महाअभियोग प्रस्ताव ल्याइएका तेस्रो राष्ट्रपति भइ नै सकेका छन् ।
तर, हट्ने सम्भावना अहिलेको सिनेटको संख्यालाई हेर्दा लगभग असम्भव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।