नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्छ : अर्थमन्त्री खतिवडा



अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् ।

वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने उनको भनाई छ । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अर्थमन्त्री खतिवडाले विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो समस्या रहेको बताएका थिए ।

जबाफमा मन्त्री खतिवडाले अब नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न नसक्ने बताए । ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल्वे परियोजनाका धेरै काम अगाडि बढ्ने क्रममा रहेको भन्दै मन्त्री खतिवडाले अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदबाट पनि सहयोग चाहिने बताए ।

आयोजनालाई प्राथमिकीकरण गर्न नसक्दा बजेट खर्च कमजोर रहेको उनले स्वीकार गरे । सरकार अर्थतन्त्रको संरचनामै परिवर्तन गर्ने क्रममा रहेका कारण त्यसको साइड इफेक्ट अर्थतन्त्रमा देखियको उनको भनाइ छ । आर्थिक वर्षको पहिलो ५ महिना सकिँदा ९ प्रतिशत मात्र पुँजीगत खर्च रहेको सन्दर्भमा समितिले बिहीवार बिकासे मन्त्रालयसँग छलफल गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्