नेकपा र राजपा सहमतिको तरंग: सरकारको समीकरण बदलिने संकेत



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समिकरण बदलिने सम्भावना बढेको छ ।

राष्ट्रिय सभा पनर्वाचनमा सहकार्य गर्ने नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिक समसामयिक विषयमा नियमित छलफल गर्ने तथा सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई पार्टीबीचको सहमतिसँगै संघीय सरकार र प्रदेश सरकारमा फेरबदलको संकेत देखिएको हो ।

यससँगै नेपाली राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावनासमेत देखिएको खबर आजको राजधानी दैनिकमा छ ।नेकपा र राजपाबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटार भएको दुई बुँदे सहमति सार्वजनिक भए पनि सोही अवसरमै संघीय सरकारमा राजपा सहभागी हुने र प्रदेश २ मा नेकपा र राजपाको सहकार्यमा नयाँ सरकार गठन गर्ने बारेमा समेत अनौपचारिक सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सहभागितामा भएको छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा नयाँ सरकार गठनको प्रस्ताव गरेका हुन् । छलफलमा अध्यक्ष दाहालले प्रदेश २ मा नेकपा र राजपाको सरकार गठन गर्ने प्रस्ताव गरेपछि राजपा नेपालका संयोजक राजेन्द्र महतोले मुसुक्क हाँस्दै सहमति जनाएका थिए ।

अध्यक्ष दाहालले मुख्यमन्त्रीसहित प्रदेश २ सरकारको नेतृत्व राजपाले गर्ने र नेकपाले त्यसमा सहयोग गर्दै सहभागी हुने प्रस्ताव गरेको नेकपा स्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्